दुखहरण यादव – गढवा
गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको व्यवस्थापनको विषयलाई लिएर विवाद चुलिएको छ ।खानेपानी तथा सरसफाई समितिको लामो समय सम्म साधारण सभा नगरेको,आयोजनाको लागत इस्टिमेट अनुसारको काम नभएको, खानेपानीको धारा जडान तथा सबै स्थानमा व्यवस्थापन हुन नसकेको विषयलाई लिएर स्थानीयले समितिसंग जवाफ माग्दा विवाद सिर्जना भएको हो ।
यसै विषयक लागि सोमवार बसेको राजनितिक दलहरुको बैठकले उक्त खानेपानी आयोजनालाई थप ब्यवस्थित गर्न दलिय संयन्त्र गठन गरि गढवा गाउँपालिकाका अध्यक्ष समक्ष मागपत्र बुझाईएको समितिका संयोजक तथा नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति प्रदीप केसीले जानकारी दिनुभयो ।
उक्त खानेपानी आयोजनाका अध्यक्ष वर्तमान जननिर्वाचित वडा अध्यक्ष रहनु भएको र उहाँलाई पटक–पटक साधारणसभा राख्न अनुरोध गर्दा समेत लामो समयसम्म भेला तथा साधारणसभा नभएका कारण आयोजना अस्तब्यस्त भै रहेको राजनितिक दलहरुको दाबि छ । जसका कारण पाइपलाईन बिस्तार,धारा वितरण, टैंकीको संरक्षण, कर्मचारी परिचालन र खानेपानीको महसुलका विषयमा गंभिर संकट उत्पन्न भएको भन्दै राजनितिक संयन्त्रले एक समिति गठन गरि गाउँपालिकाको ध्यानाकर्षण गराएको समितिका संयोजक केसीले बताउनु भएको छ ।
त्यस्तै खानेपानीको समस्या तत्काल समाधान गर्न अनुरोध गर्दै उक्त समितिले वडा कार्यालय,गढवा गाउँपालिका र जिल्ला खानेपानी डिभिजन कार्यालयमा समेत मागपत्रको बोधार्थ पठाएको बताएको छ । यत्तिमात्र होइन उक्त संयन्त्रले स्थानीय सरकारद्वारा गढवा – ४ मा सञ्चालित विकासका योजनाहरु सञ्चालन तथा सम्पन्न गर्दा लागत स्टिमेट बमोजिम काम भए नभएको, अनुगमन, रेखदेख समेत गर्ने र स्थानीय सरकारलाई सुझाव दिने काम पनि वडा स्तरीय राजनितिक संयन्त्रबाट गर्ने निर्णय गरेको जानकारी गराएको छ ।
समितिका संयोजकमा नेपाली कांग्रेस वडा नम्बर ४ का सभापति प्रदीप केसी, सहसंयोजकमा नेकपा एमाले गढवा – ४ का वडा अध्यक्ष कमल खड्का, जनता समाजवादी पार्टी गढवाका अध्यक्ष महबुव अली, राष्ट्रिय स्वतन्त्र पार्टीका त्रिभुवन भट्टराई, राष्ट्रिय जनमोर्चाका चिन्ता प्रसाद पोख्रेल, नेकपा मसालका चन्द्र केसी र नेकपा एकिकृत समाजवादीका बामदेव यादव रहनु भएको छ । उक्त संयन्त्रमा नेकपा माओवादी पार्टीका प्रतिनिधी भने रहनु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्