काठमाडाैँ– संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलहरूले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार नउठाउने भएका छन्। आइतबार बिहान बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सम्मिलित बैठकले यस्ताे निर्णय गरेकाे हाे।
राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले विपक्षी दलसँग सल्लाह गरी उम्मेदवार नउठाउने निर्णय भएकाे जानकारी दिए। ‘हामीले विपक्षी दलसँग सल्लाह गर्याैँ। सल्लाहपश्चात् उम्मेदवार नपठाउने निर्णय गर्याैँ’, उनले भने।
गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको थियो। राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवारीका लागि आजै मनोनयन दर्ता हुँदैछ।
संघीय संसद् सचिवालयका अनुसार आज दिउँसाे १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गरिनेछ। प्रस्ताव दर्तापछि अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए। विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ। सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल उम्मेदवार रहेकी छन्।

प्रतिक्रिया दिनुहोस्