दाङ – लमही नगरपालिकामा सरूवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुनबहादुर थापालाई एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट सरुवा भएर आएका अर्जुनबहादुर थापालाई लमही नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत थापाले समग्र नगरपालिकाको विकास कसरी हुन्छ, त्यस विषयमा आफु र आफ्ना मातहतका कर्मचारी दत्तचित्त भएर लाग्ने बताउनुभयो । उहाँले आफु लमही नगरपालिकामा रहदासम्म जनप्रतिनिधि र कर्मचारीसंग समन्वय, सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ । नगरवासीको गुनासालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिने उहाँको भनाई छ ।
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले लुम्बिनी प्रदेशकै नमुना नगरपालिका बनाउने उद्देश्य राखेर तिब्र गतिमा कामकाज अगाडि बढाउन सबै कर्मचारीलाई आग्रह गर्नुभयो । नगर प्रमुख चौधरीले अधिकृत थापालाई समृद्ध नगरको विकासमा अतुलनिय योगदान पुर्याउन अनुरोध गर्दै, नगरपालिकामा विद्युत् सेवा नभएको बेला अन्य विद्युतीय उपकरणको प्रयोग गरी नगरको सम्पूर्ण कामकाजलाई तिब्र गतिमा लैजना आग्रह गर्नुभयो ।
उहाँले हिजोका दिनलाई भुलेर समग्र नगरको विकासमा अहोरात्र खट्नुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । यस्तै लमही नगरपालिका नगर उप–प्रमुख लक्ष्मी योगीले नगरपालिकाको उन्नती र विकास हुने कुरालाई ध्यानमा राखेर अगाडी बढ्न आग्रह गर्नुभएको छ । उहाँले कर्मचारीले कार्यसम्पादन गर्दा कत्तिपनि कञ्जुसाई नगरी नगरपालिकामा आउनुहुने सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
लमही नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष तथा प्रवक्ता मोहन गिरीले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नंग र मासुको सम्बन्ध जस्तै बलियो हुन जरुरी रहेको बताउनुभयो । स्वागत कार्यक्रममा लमही नगरपालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृत थापालाई फुलमालाले स्वागत गर्नुभएको थियोे । पत्रकार केपी घिमिरे लगायतका वक्ताहरूले बोल्नु भएको थियोे ।
लमही नगरपालिका शिक्षा शाखा प्रमुख रवीन्द्र क्षेत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिका प्रशासन शाखा प्रमुख महेश थापाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्