दाङ – अजम्मरी सामुदायिक वन उपभोक्ता समितिले वन जोगाउन आफ्ना उपभोक्तासंग अन्तरक्रिया गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरेर समितिले यस्तो प्रकारको रणनीति अपनाएको समितिका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिनु भयो ।
त्यस्तै सामुदायिक वनभित्र प्रवेश गरि जथाभाबी रुपमा पशुचौपायलाई चरिचरण गराउने र घाँस काट्ने उपभोक्तालाई कडाई गर्न थालिएको छ । लमहीको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले समूहको वन क्षेत्रमा पशुचौपाय चरिचरणको लागि अर्जुनखोला नाका, पुरानो चेकपोष्ट नाका र अजगर नाका गरि तीनवटा नाकाबाट मात्र पशुचौपाय वन प्रवेश नाका निश्चित गर्ने र अन्य कुनै नाका बाट प्रवेश नगर्ने, वृक्षारोपण क्षेत्रभन्दा माथिल्लो क्षेत्र चरिचरण गराउने निर्णय गरेको हो । शुक्रवार अजम्मरी सामुदायिक वन उपभोक्ता समूह अन्तरगत बाख्रापालन गर्ने उपभोक्तासंग अव्यवस्थित चरिचरण रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सुझावलाई संकलन गरिएको थियो ।
व्यवसायी रूपमा बाख्रापालन गर्ने उपभोक्ताहरुले हप्ताको तीनदिन शनिबार, सोमबार र विहिवार घाँस काट्न वन प्रवेश गर्ने र घाँस साल, अस्ना, धौटी, हर्राेवर्राे र कलम जातको बाहेक घाँस काट्ने निर्णय गरिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाख्रापालन उपभोक्ताले ०८०÷१÷८ गतेदेखि ७ दिनभित्र समूहको कार्यालयमा आई परिचयपत्र बनाउने निर्णय गरिएको बताउनुभयो ।
यस्तै वन प्रवेश तोकिएको निश्चित नाकाबाट भन्दा अन्य नाकाबाट पशुचौपाय प्रवेश गराएपछि र हप्ताको तीनदिन घाँस काट्ने दिन खुलाए बमोजिम भन्दा अन्यदिन घाँस काट्ने उपभोक्ताहरूलाइ एकसय समूहले जरीवाना लिने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको कोषाध्यक्ष तेज बहादुर विकले बताउनुभयो । पछिल्लो समय यता उपभोक्ताहरू बाटै वनमा अव्यवस्थित चरिचरण भएको जनगुनासो ब्यापक आउन थालेपछि वन क्षेत्रमा चरिचरण रोकथाम गर्न अव्यवस्थित चरिचरण रोकथाम सम्बन्धि उपभोक्तासंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कोषाध्यक्ष विकको भनाई छ ।
सामुदायिक वनमा गैर–उपभोक्ताले जथाभावी चरिचरण तथा वन विनाश गर्ने गरेको पाइएपछि त्यस्ता गैर–उपभोक्तालाई वन प्रवेशमा रोक लगाउन थालिएको छ । कार्यक्रममा उपभोक्ताहरुले घाँस काट्न भनी वन प्रवेश गर्नेहरूले साना तथा ठूला विरूवा जराबाट काट्ने गरेको पाइएको गुनासो राखेका थिए ।
कार्यक्रममा सामुदायिक वनका वरिष्ठ सल्लाहकार ताराप्रसाख खनाल, उपभोक्ता डिल्लीराज खनाल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण अजम्मरी सामुदायिक वन उपभोक्ता समितिका सचिव गोमा भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्