तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान हुँदै

दाङ समाचार
दाङ समाचार १० बैशाख २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं – प्रतिनिधि सभाको उपनिर्वाचन तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा भइरहेको छ । तनहुँ १, चितवन २ र बारा २ मा बिहान ७ बजेदेखि मतदान जारी छ ।

दिउँसो घाम हुने भएकाले मतदाताहरु बिहानैदेखि लाइनमा लागेर भोट हालिरहेका छन् । निर्वाचन अधिकृतहरुका अनुसार ज्येष्ठ नागरिक, बिरामी, अशक्त अपांग, किरियापुत्री लगायतलाई लाइनमा नबसी भोट हाल्न पाउने व्यवस्था मिलाइएको छ । प्रहरीले निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक भइरहेको जनाएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले र बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन भएको हो ।

यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेकाले त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विगतमा जस्तो उपनिर्वाचनमा म्यादी प्रहरीहरु छैनन् । सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रबन्ध मिलाएका छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।

उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सवारी साधन सन्चालनमा रोक लगाइएको छ । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा अत्यावश्यक बाहेकका यातायातका साधन सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

चितवन २ मा एक लाख २४ हजार ६९५ जना मतदाता छन् । यसैगरी तनहुँ १ मा एक लाख २३ हजार ३०५ र बारा २ मा १ लाख ५ हजार २४८ मतदाता छन् । #Onlinekhabar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्