काफल बेचेर पढाई खर्च जुटाउँदै १४ वर्षीय बालक

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १३ बैशाख २०८०, बुधबार
3 Min Read
Aa

दाङ – घोराही उपमहानगरपालिका – १६ का विवेक सुनार काफल बेच्दै गर्दा लमही बजारमा भेटिनु भयो । उमेरले १४ वर्ष पुगेका विवेक घोराही स्थित जयशेर माध्यामिक विद्यालय सर्रा कक्षा ९ मा पढ्नु हुन्छ ।

पढाईलाई निरन्तरता दिनकै लागि छिटुवाभरि काफल बोकेर घोराही देखि २३ किलो मिटर दक्षिण तर्फ रहेको लमही बजार आएको बताउनु भयो । लमही बजारको हरेक गल्लि गल्लिमा काफल आयो, काफल आयो भन्दै हिड्न थालेको करिव एक हप्ता पुगि सकेको छ ।

उहाँ भर्खरै सम्पन्न भएको पालिका स्तरिय कक्षा ८ को परिक्षामा उतिर्ण हुनु भएको हो । विवेकका बुवाले घर बनाउने काम गर्नु हुन्छ । घरको आर्थिक अवस्था कम्जोर भएका कारण आफ्नी आमासंगै काफल बेच्न लमही बजार झरेको विवेक बताउनु हुन्छ । ‘बाबाले कमाएको पैसाले घर खर्च चलाउन ठिक्क हुन्छ, त्यहि भएर म पनि आमासंगै काफल बेच्न हिडेको’– विवेकले भन्नु भयो ।

दैनिक १ हजार देखि १५ सयसम्मको काफल बिक्रि गरेर घर फर्किने गरेको विवेकले बताउनु भयो । अब केहि दिन मात्र काफल बेच्न लमही आउने र त्यसपछि नाम लेखाएर विद्यालय पढ्न जाने उहाँको योजना छ ।

त्यस्तै घोराहीकै १३ वर्षीय शिवजी परियार पनि काफल बेच्नका लागि लमही बजार आउनु भएको छ । कक्षा ७ मा पढ्दै गर्नु भएका शिवजीका बुवा बितेको एक वर्ष भएको छ । घरको अवस्था कम्जोर छ । आमाले ईट्टाभट्टामा मजुरी गरेर आफुहरुको पढाई खर्च जुटाई दिने गरेको उहाँको भनाई छ ।

परिक्षा दिएर रिजल्ट नआउँदासम्म काफल बेच्छु भनेर घरबाट हिडेको उहाँले बताउनु भयो । काफल बेचेर पढाई खर्च जुटाई सकेको उहाँले बताउनु भयो । केहि महिनासम्म पुग्ने कापी कलम किन्नका लागि पैसा जम्मा गरेको छु’– उहाँले भन्नु भयो । यहि काफल बेचेर आएको पैसाले नाम लेखाए, पढाई पनि शुरु भैसकेको छ, अब केहि दिन बेचेर पढ्न जान्छु’– शिवजीले भन्नु भयो ।

सल्यान कपुरकोटका रुपाली घर्ती पनि आफ्नो बुवाको साथमा काफल बेच्न दाङको लमही आउनु भएको छ । उहाँहरु लमही आएको दुई हप्ता बढी हुन् लागेको छ । बाबु छोरीले दिनमा १५ सय देखि २५ सय सम्मको काफल बिक्री गर्ने गरेको रुपालीका बुवा जय बहादुर घर्तीले बताउनु भयो । जय बहादुरले सिजन अनुशार पाइने फलफुल बिक्रि गर्ने अड्डा बनाउनु भएको छ दाङको लमही बजारलाई ।

विवेक, शिवजी र रुपाली घर्ती जस्ता थुप्रै कलिला बालबालिका काफल बेच्न दाङका हरेक बजारमा जाने गर्दछन । यस्ता कलिला बालबालिका कहिले च्याउ लिएर सडकमा बसेका हुन्छन भने कहिले खजुरी (थाकल) । धेरै जसो घरको आर्थिक अवस्था दयनीय भएका कारण सिजन अनुशार फलफुल बिक्रि गर्न हिन्ने गरेको पाइन्छ । आर्थिक अवस्था कम्जोर भएका बालबालिकाले यसैगरी आफ्नो पढाई खर्च जुटाउने गरेका छन् ।

सल्यान, प्युठान, रोल्पाबाट टिपेर ल्याईएको काफल यति बेला दाङका घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतका मुख्य बजारमा छ्यापछ्याप्ती पाइन्छ । छिटुवामा काफल राखेर बेच्न हिडेका स–साना नानिबाबुहरु बजारका गल्लि गल्लि, हरेक चोकमा भेटिन्छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्