तुल बहादुर कवँर मगर, भालुवाङ
दाङ – राप्ती गाउँपालिकामा कृषकले पालेका पशुचौपायामा (लम्फि स्किन डिजिज ) छालामा संक्रमण हुने रोग फैलिएको छ । वडा नम्बर २, ४, ५ र ९ मा बढी मात्रामा यो रोग देखा परेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भयो ।
रोगका कारण वडा नम्बर ५ पुनखोलाका थमन सिंह गाहा मगर, लंक बहादुर घर्ती मगर र तेज बहादुर घर्ती मगरको १÷१ वटा गोरु मरेका छन भने वडा नम्बर ५ कै करङ्गेकोटका दिल बहादुर दर्लामी मगर, किम बहादुर कवँर मगर, बल बहादुर दर्लामी मगरको गाई र गोरु बिरामी परेको अध्यक्ष विष्टले जानकारी दिनु भयो । पालिकाभरि करिव २ सय ५० भन्दा बढी पशु चौपाया यो रोगका कारण बिरामी परेका छन् ।
गाउँपालिकाले पशु सेवा प्राविधिक कमल पुन मगरको नेतृत्वमा गाउँ गाउँमा टोली खटाई निःशुल्क रुपमा उपचार गरिरहेको छ । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्याधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखिने राप्ती गाउँपालिकाका पशु शाखा प्रमुख जिवराज पौडेलले बताउनु भयो ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुन्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरण क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पशु शाखा प्रमुख पौडेलको भनाई छ ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नु पर्ने पशु सेवा प्राविधिक शेर बहादुर हमालले बताउनु भयो ।
यो रोग अफ्रिकी राष्ट्रबाट सन् २०१२ बाट मध्यपूर्व, दक्षिणपूर्वी यूरोप, रुस र कजाकास्तानमा फैलिएर सन् २०१९ मा बंगलादेश, भारत र चीनमा देखिएको थियो । नेपालमा सन् २०२० जुलाइमा प्रयोगशालाबाट परीक्षण गरी लम्पी स्किन डिजिज रोग पत्ता लागेको थियो । भेक्टरबाट सर्ने यो रोगको प्रकोप मनसुन, गर्मी मौसममा बढी फैलने भएको हुँदा पशु स्वास्थ्य विशेषज्ञहरुले विशेष सतर्कता अपनाउन कृषकहरुलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्