बचतकर्ताहरु ठगिन थालेपछि सहकारीहरुको अनुगमन शुरु

दाङ समाचार
दाङ समाचार २३ बैशाख २०८०, शनिबार
2 Min Read
Aa

दाङ – सहकारी संस्थाहरूबाट बचतकर्ताहरु ठगिएको गुनासो बढ्न थालेपछि राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरूको अनुगमन कार्य शुरु गरेको छ। गाउँपालिका र नेफ्सुनको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको अनुगमन गर्न थालिएको पालिकाका सहकारी शाखा प्रमुख शेरबहादुर हमालले जानकारी दिनु भएको छ ।

पछिल्लो समय सहकारी संस्थाहरूबाट बचतकर्ताहरु ठगिन थालेपछि राप्ती गाउँपालिकाले नेफ्सुनको सहकार्यमा अनुगमन गर्न थालेको हो । सहकारीहरुको अवस्था, दर्ता प्रक्रिया, सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई परिपालना गरेको नगरेको, सहकारीको अभिलेख व्यवस्थापन बारे सहकारी भित्रका सबै पक्षमा शुसासन भए नभएको बारेमा अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा कतिपय सहकारीहरूको विधान संशोधन गर्नु पर्ने, दर्ता नविकरण जस्ता समस्या रहेको सहकारी प्रमुख हमालको भनाई छ ।

अनुगमन टोलीले सहकारी संस्थाहरूलाई आर्थिक पाटोलाई पारदर्शी बनाउन संस्थाका पदाधिकारी तथा कर्मचारीहरूलाई अनुरोध गरिएको छ । राप्ती गाउँपालिकामा ३४ वटा सहकारी संस्था रहेका छन् । जस अनुसार हाल सम्म वडा नम्बर १, २, ३, ४ र ६ मा रहेका १० वटा सहकारी संस्थाहरूको अनुगमनको कार्य सम्पन्न भैसकेको छ ।

गत वैशाख २१ गते देखि सुरू गरिएको अनुगमन ७ दिन सम्म जारी रहने शाखा प्रमुख हमालले जानकारी दिएका छन् । अनुगमनमा नेफ्सुन अनुगमन अधिकृत पवन मल्ल, राप्ती गाउँपालिका आर्थिक विकास प्रमुख जिवराज पौडेल र सहकारी शाखा प्रमुख शेरबहादुर हमाल रहनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्