आरजुको चरित्र हत्या भएको भन्दै तरुण दलले जनायो आपत्ति

दाङ समाचार
दाङ समाचार ३१ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेतृ डा. आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडी सञ्चारमाध्यममा चरित्र हत्या गर्ने खालका अनर्गल कुराहरूप्रति आपत्ति जनाएकाे छ।

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय सांसद डा. आरजु राणा देउवाज्यूको विभिन्न सञ्चारमाध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरू प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

तरुण दलले नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी अनुसन्धानमै रहेको हुँदा ठोस प्रमाणबिना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको स्मरण गराउँदै सबै सरोकारवालाहरूलाई सचेत रहन आग्रह पनि गरेकाे छ।

जारी अनुसन्धानलाई यथाशीघ्र टुंगोमा पुर्‍याउन सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीलाई आग्रह गर्दै तरुण दलले अनुसन्धानमा संगठनको पूर्ण सहयोग रहने पनि बताएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि प्रहरीले नेकपा एमाले नेता टोपबहादुर रायमाझीका छो‍रा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रस नेता बालकृष्ण खाण, खाणका स्वकीय सचिव नरेन्द्र केसी, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १२ जनालाई पक्राउ गरेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्