दाङ – प्रहरीले बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका – ७ निवासी ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँ निवासी ४० वर्षिय आशाराम विक, २५ वर्षिय देव बहादुर विक र रोल्पा माडी गाउँपालिका -३ निवासी २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।
शुक्रबार दिउँसो पौने १२ बजेतिर लमही नगरपालिका ९ अमिलिया स्थित पूर्वपश्चिम राजमार्गमा प्रतिबन्धीत वन्यजन्तु (अखेटोपहर) बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बा २० प ९०७२ नम्बरको मोटरसाइकल र यू ७६ एल ७०६९ नम्बरको भारतीय मोटरसाईकलमा सवार देव बहादुर विक र आशाराम विकले मोटरसाइकलको बिचमा लुकाई छिपाई राखेको अवस्थामा बाघको छाला र हड्डी बरामद गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट टाउको देखी पुच्छरसम्म ९ फिट ६ ईन्च लम्बाई र चौडाई ५ फिट १० ईन्च भएको छाला एक थान, बाघको हड्डी १४१ वटा (८ केजी ४३० ग्राम), यू ७६ एल ७०६९ नम्बरको भारतिय नम्बर प्लेटको एक थान मोटरसाइकल र बा २० प ९०७२ नत्रबर मोटरसाईकल एक गरी दुई वटा मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप कानूनी कारवाहीका लागि ईलाका वन कार्यालय लमहीमा बुझाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्