दाङ – लमहीमा निर्माणाधीन प्रदेश स्तरिय ट्रमा सेन्टरको काम हालसम्म ३० प्रतिशत मात्र भएको छ । २०७७ चैत्र २४ गते सम्झौता भएर निर्माण कार्य शुरु भएको ३९ महिना बित्न लाग्दा पनि ट्रमा सेन्टरले पूर्णता पाउन सकेको छैन ।
लुम्बिनी प्रदेश गौरवको योजनाका रुपमा रहेको यस ट्रमा सेन्टरको काम कछुवागतिमा हुनुले प्रदेश सरकारलाई नै गिज्याई रहेको छ । कतै वजेट अभावमा काम अलपत्र परेका छन भने कतै वजेट हुँदा हुँदै पनि समयमा काम सम्पन्न हुन सकिरहेका छैनन ।
ट्रमा सेन्टर बनाउनका लागि दाङको लमही उपयुक्त भएको भन्दै लुम्बिनी प्रदेश सरकारले वजेट विनियोजन गरेको लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुल बहादुर केसीले बताए । पूर्वपश्चिम राजमार्गसंग सटेको, दुर्घटना भैहालेमा घाइते र विरामीलाई तुरुन्तै अस्पताल पुर्याउने सकिने स्थान भएकोले प्रदेश सरकारको रोजाईमा परेको उनको भनाई छ ।
हामी जनप्रतिनिधि भएर आइसकेपछि ति जग्गाहरु स्थानीय सरकारको मातहतमा हुन्छ भन्ने बुझ्यौ, त्यहि बेला प्रदेश सरकारले ट्रमा सेन्टरको लागि जग्गा चाहियो भनेर हामीलाई खबर गरेपछि त्यहाँ भएको सहकारी अन्यत्र व्यवस्थापन गरेर जग्गा उपलब्ध गराएका हौँ’– पुर्व नगर प्रमुख केसीले भने ।
ट्रमा सेन्टर बन्दै गरेको जग्गा ऐलानी हो । त्यहाँ एउटा सहकारी संचालन भैरहेको थियो । त्यसभित्र केहि रुखहरु पनि थिए । लुम्बिनी प्रदेश सरकारले सोहि जग्गा उपलब्ध गराई दिन भनेर लमही नगरपालिकालाई भनेपछि नगरपालिकाले सहकारी अन्यत्र व्यवस्थापन गर्नुस भनेर पत्राचार गरेको थियो तर सहकारी संचालकहरुबाट तत्काल सार्न नसकिने भनेपछि विवाद उत्पन्न भएको थियो ।
त्यहाँ रहेको सहकारीलाई अन्यत्र व्यवस्थापन गर्यौं, त्यहाँ भएका भवन भत्काउन केहि समय लाग्यो, र त्यहाँ भएका रुखहरु काट्न ठुलै समस्या आयो त्यसकारण पनि काम ढिला भएको हो’– केसीले भने । रुखहरु काट्दा वन कार्यालयको अबरोध हुँदा थप ढिला भएको पुर्व नगर प्रमुख केसीको भनाई छ ।
लमही नगरपालिकाका पुर्व उपप्रमुख देवका बेल्बासेका अनुशार लमही क्षेत्रमा सामान्य खालको ट्रमा सेन्टर बनाउने भनेर संघीय सरकारले पनि चासो राखेको थियो । तर प्रदेश सरकारले प्रदेश स्तरिय ट्रमा सेन्टर बनाउने भनेर स्थानिय पालिकासंग समन्वय गरेपछि काम अगाडी बढेको हो ।
दाङको लमहीमा अत्याधुनिक सेवा सुविधा सहितको ट्रमा सेन्टर निर्माण गर्ने भनेर लुम्बिनी प्रदेश सरकारले २०७६÷७७ तिर १९ करोड ४१ लाख रुपैया विनियोजन गरेको थियो । तत्कालिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल मुख्यमन्त्री भएका बेला वजेट विनियोजन भएको हो । प्रदेशले अहिलेसम्म चारवटा मुख्यमन्त्री पायो, ति मध्ये शंकर पोख्रेल र बर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरी दाङकै हुन । हालसम्म लुम्बिनी प्रदेशमा चार जना मुख्यमन्त्री फेरबदल भए तर लमहीमा बन्दै गरेको प्रदेश स्तरिय ट्रमा सेन्टर कहिले सम्पन्न हुन्छ भन्ने कुनै टुंगो छैन ।
लमहीमा बन्दै गरेको प्रदेश स्तरिय ट्रमा सेन्टरको निर्माणको जिम्मा लामा जिएसएच जेभी काठमाण्डौले लिएको छ । कामको सम्झौता गरेको लगत्तै नेपालमा कोरोनाका कारण निर्माणका सामाग्री पठाउन नसकेको निर्माण कम्पनिका प्रतिनिधि दीलिप लामाले बताए । त्यो बेला केहि समय कोरोनाले काम गर्न दिएन, केहि समय त्यहाँ भएका भवन भत्काउन ढिला भयो र केहि समय जग खन्ने क्रममा पानी निस्किएर ढिलाई भयो’– लामाले भने ।
शहरी विकास तथा भवन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख अनन्त कुमार देवका अनुशार २०८० असार २३ गते काम सक्ने गरि निर्माण कम्पनिसंग सम्झौता भएको थियो । विविध कारण देखाउदै समयमा काम सम्पन्न गर्न सकिएन, म्याद थप गर्दिन पर्याे भनेर कम्पनीले अनुरोध गरेपछि म्याद थपको काम प्रक्रियामा रहेको छ । लमहीमा बन्दै गरेको प्रदेश स्तरिय ट्रमा सेन्टरको नियमनको काम शहरी विकास तथा भवन कार्यालय दाङले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्