कर्णाली प्रदेश विरुद्ध गण्डकीकाे ४ विकेटले विजयी

दाङ समाचार
दाङ समाचार २७ फाल्गुन २०८१, मंगलवार
3 Min Read
Aa

दाङ – दिपक डुम्रेकाे अविजित अर्धशतकमा गण्डकी प्रदेशले कर्णाली प्रदेश विरुद्ध ४ विकेटको जित निकालेको छ । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत मंगलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएकाे ९२ रनकाे सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ विकेटको क्षतिमा पूरा गर्याे ।

९२ रनकाे सामान्य लक्ष्य पछ्याएकाे गण्डकीका शुरुवाती ब्याटर सस्तैमा अाउट भएपछि दवावमा परेकाे बेला दिपक डुम्रे र सुजन गाैतमले सम्हालिएर खेल्दै पारी उकासेर २९ दशमलव १ अाेभरमा टिमलाई जित दिलाए । १२ अाेभरकाे खेल सकिँदा २२ रनमा ६ विकेट गुमाईसकेकाे अवस्थामा दिपक र सुजनले राम्रो साझेदारी गर्दै नतिजा अाफ्नाे पक्षमा पारे ।

दीपक डुम्रेले सात चाैकाकाे मद्दतमा ५० रन र सुजन गाैतमले ३ चाैकाकाे मद्दतमा २२ रन बनाए । टिमलाई जित दिलाउन अविजित अर्ध शतक बनाएका दिपक डुम्रे प्लेयर अफ द म्याच भए । कर्णाली प्रदेशका लागि दिवान पुनले ३ विकेट लिँदा दिपेन्द्र रावतले २ विकेट र युनिष ठकुरीले १ विकेट लिए ।

यसअघि टस हारेर व्याटिङकाे निम्ताे पाएकाे कर्णाली प्रदेशका कुनै पनि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । कर्णालीका लागि विपिन शाहीले २० रन, अर्जुन घर्तीले १७ रन, विपिन रावलले १५ रन, हिमांशु शाहीले १२ रन बनाउनु बाहेक अरु खेलाडीले रन जाेड्न नसक्दा २७ दशमलव २ अाेभरमा अलअाउट हुँदै केवल ९१ रन बनायाे ।

कर्णालीलाई सस्तैमा समेट्न गण्डकीका चन्द्र पाैडेल, सुवास भण्डारी र विपिन खत्रीले समान २-२ विकेट लिए । यस्तै, सन्दीप पराजुली र अमृत गुरुङकाे नाममा १-१ विकेट रह्याे । प्रतियोगितामा गण्डकीले दुई खेलमा पहिलाे जित निकाल्दै २ अंक जाेडेकाे छ । यसअघि गण्डकी प्रदेशले सुदूरपश्चिम पश्चिम प्रदेशसँग ६ विकेटको हार व्यहाेरेकाे थियाे ।

अब प्रतियोगिता अन्तरगत बिहीबार विभागीय टिम एपिएफ र मधेस प्रदेश बीच खेल हुने तालिका रहेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्