कृषिजन्य वस्तुको बजारीकरणमा राज्य गम्भीर बन्नु पर्छ- सांसद विश्वकर्मा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३ असार २०८२, मंगलवार
3 Min Read
Aa

दाङ – देउखुरीको गढवामा आजदेखि प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला आजबाट सुरु भएको छ । मेलाको उद्घाटन लुम्बिनी प्रदेशका सांसद लोका विश्वकर्माले गरेकी हुन । उद्घाटन गर्दै उनले गढवा क्षेत्रको समग्र विकासका लागि यस्ता मेलाहरू प्रभावकारी माध्यम बन्न सक्ने बताइन । “स्थानीय उत्पादन, संस्कृति र पर्यटकीय सम्भावनाहरूलाई प्रवर्द्धन गर्दै युवालाई रोजगारीको अवसर सिर्जना गर्ने मेलाको उद्देश्य अत्यन्तै प्रशंसनीय छ,” सांसद विश्वकर्माले भनिन ।

सांसद विश्वकर्माले देउखुरी क्षेत्र कृषि उत्पादनका लागि अत्यन्तै उर्वर भएको बताउँदै किसानको मेहनत अनुसार राम्रो उत्पादन हुने भए पनि राज्यले उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरणमा गम्भीरता देखाउनुपर्ने आवश्यकता औँल्याइन । “कृषिमा आत्मनिर्भर बन्न मेहनती किसानको उत्पादन बजारसम्म पुर्‍याउने जिम्मा अब राज्यले लिनुपर्छ,” सांसद विश्वकर्माले भनिन ।

उनले यस्ता मेलाहरूले स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्द्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्न सकिने पनि उल्लेख गरिन । साथै कोइलाबास भन्सार संचालनका विषयमा आफुले लुम्बिनी प्रदेश सरकार समक्ष कुरा राख्ने बताएकी छन् ।

स्थानीय कृषि उत्पादन, हस्तकला, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले देउखुरीमा सुरु भएको नौ दिने मेलामा विविध आकर्षण समावेश गरिएको छ । मेलामा कृषि प्रदर्शनी, हस्तकला सामग्री, स्थानीय खानपानका परिकारहरू, लोकसंस्कृति झल्काउने प्रस्तुति तथा व्यापारिक स्टलहरू राखिएका छन् ।

आयोजक समितिका अनुसार मेला नौ दिनसम्म सञ्चालन हुनेछ। मेलामा स्थानीय उत्पादनको प्रचारप्रसार, कृषक तथा उद्यमीहरूलाई प्रोत्साहन र सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिइएको छ ।

मेलाले स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउनुका साथै सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजक समितिले मेलामा सम्पूर्ण क्षेत्रवासीको सक्रिय सहभागिताको अपेक्षा गरेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओम प्रकाश गुप्ता, भारत तुलसीपुर ब्यापार मण्डलका अध्यक्ष श्याम अग्रहरी, गढवा गाउँपालिका -६ का वडा अध्यक्ष वीर बहादुर आले, राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिल देव खनाल, जनता समाजवादी पार्टीका महबुव अलि, प्युठान उद्योग वाणिज्य संघका महासचिव झवेन्द्र शर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदी, यम नारायण शर्मा पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सांसद लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा संचालित उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष रविलाल आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रेस सल्लाहकार शिवराज पन्थी र कोषाध्यक्ष दुख हरण यादवले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्