दाङ – आयाम बहुउद्देश्यीय ऋण सहकारी संस्था लिमिटेडले लमहीबाट पनि आफ्नो सेवा विस्तार गरेको छ । गढवा गाउँपालिका–५ गढवामा मुख्य कार्यालय रहेको सहकारीले आइतबार लमहीमा शाखा उद्घाटन गर्दै औपचारिक रुपमा सेवा प्रारम्भ गरेको हो। यसअघि सहकारीले गढवा गाउँपालिका–१ कालाकाटे र राजपुर गाउँपालिका–५ जंग्रहवाबाट सेवा दिँदै आएको थियो ।
सहकारीका अध्यक्ष ओम प्रकाश बसेलका अनुसार संस्थाले बचत संकलन, ऋण प्रवाह र शेयर सदस्यता विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ । हालसम्म २ हजार ४ सय ४६ जना शेयर सदस्य आवद्ध भइसकेका छन । सदस्यहरूलाई आवश्यकताअनुसार कृषिऋण, व्यवसायिक ऋण, विप्रेषण सुविधा, विमा सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको उनले बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले एम्बुलेन्स सञ्चालनमार्फत आपत्कालीन स्वास्थ्य सेवामा समेत योगदान पुर्याउँदै आएको छ । साथै, आगामी दिनमा डिजिटल बैंकिङ सेवा विस्तार गर्ने, कृषिमा लगानी गर्ने, स्वरोजगारमुखी तालिम सञ्चालन गर्ने र शिक्षा–स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्ने योजनासमेत रहेको अध्यक्ष बसेलले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले पछिल्लो समय सहकारी क्षेत्रमा रकम अपचलनका समाचार आइरहे पनि आयाम सहकारीले उत्कृष्ट काम गर्दै उदाहरणीय बन्ने विश्वास व्यक्त गरिन । उनले भनिन्, “सहकारीका मापदण्डलाई पछ्याउँदै सेवाग्राहीको मन जित्दै संस्था आर्थिक रूपमा बलियो बन्नेछ । सहकारीमार्फत ऋण लिएर जीविकोपार्जन गर्नेहरूको हितमा पनि आयाम सहकारी सहयात्री बन्नेछ भन्नेमा म ढुक्क छु ।” संस्थाको विकासका लागि सबै एकजुट भएर अगाडी बढ्नु पर्ने उनको धारणा छ ।
कार्यक्रम सहकारीका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा उपप्रमुख योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव श्याम बहादुर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्