दाङ – जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले शान्ति, सुरक्षा, अमनचयन र सुशासन कायम गर्न प्रहरी, स्थानीय तह र नागरिक समाजबीच साझा सहकार्य आवश्यक रहेको बताएका छन् ।
शिक्षा, जनचेतना र समुदायस्तरको सहकार्यबाट मात्र अपराधमुक्त समाजको परिकल्पना साकार हुनसक्ने निष्कर्ष निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा र लमही नगरपालिकाको समन्वयमा मंगलबार सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
नगर प्रमुख चौधरीले समाज सुधारकालागि शिक्षा र जनचेतनालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउए । यस्तै उपप्रमुख लक्ष्मी योगीले सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीको मनोबल उच्च राख्न नागरिकस्तरबाट सहयोग बढाउन आग्रह गरे ।
उनले इलाका प्रशासन लमहीको सेवा सहज र प्रभावकारी बनाउन नायब सुब्बालाई अधिकार प्रत्यायोजन गरिएको बताए । सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दिपक श्रेष्ठले नागरिकको साथ र सहकार्य बिना शान्ति सुरक्षा सम्भव नहुने बताउँदै प्रहरीले जनसहभागिता, सूचना संयन्त्र सुदृढीकरण र समन्वयलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनका अनुसार दाङमा हाल ६९ प्रहरी इकाईमार्फत शान्ति सुरक्षाको कार्य अगाडि बढाइएको छ ।
सशस्त्र प्रहरीका एसपी मनोज धिताललगायतले लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन र नदी किनारको सुरक्षा जस्ता विषयमा ध्यान दिइएको बताए । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्