लमही अस्पतालमा स्वास्थ्य निर्देशनालय र निक सायमनको अनुगमन, सेवा स्तर ५९ प्रतिशत

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २३ कार्तिक २०८२, शनिबार
3 Min Read
Aa

दाङ – न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत लमही अस्पतालको अनुगमन, मूल्यांकन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र निक सायमन इन्स्टिच्युटको संयुक्त टोलीले गरेको मूल्यांकनमा लमही अस्पतालले ५९ प्रतिशत अंक प्राप्त गरेको हो ।

कार्यक्रममा अस्पतालको स्वास्थ्य सेवा गुणस्तर, उपलब्ध सेवा–सुविधा, स्रोत साधनको प्रयोग र व्यवस्थापन प्रणालीबारे विस्तृत समिक्षा गरिएको थियो । अनुगमन टोलीका सदस्य लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सन्देश पौडेलले अस्पतालका राम्रा अभ्यास र सुधार आवश्यक क्षेत्रहरूबारे तथ्यगत रूपमा प्रस्तुत गर्दै केही सुधारका पक्षमा ध्यान पुर्‍याए आगामी मूल्यांकनमा अंक वृद्धि हुने सुझाव दिएका थिए ।

अनुगमन टोलीले अस्पतालको सेवा स्तर, जनशक्ति व्यवस्था, औषधि आपूर्ति, सरसफाइ तथा बिरामीमैत्री वातावरणबारे समेत अवलोकन गरेको थियो ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सुधार आवश्यक पक्षहरू पहिचान गर्दै अस्पतालको सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएका थिए । उनले भने, “स्वास्थ्यकर्मीले बिरामीसँग यति आत्मीय व्यवहार गर्नुपर्छ कि बिरामीको आधा रोग त्यसै निको होस् । भगवानभन्दा पनि बढी स्वास्थ्यकर्मीप्रति बिरामीको विश्वास हुन्छ, त्यसैले सबैले यो कुरा मनन गरेर सेवा दिनुपर्छ ।” नगर प्रमुख चौधरीले सेवा सुधारका लागि स्थानीय सरकार सधैं सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए ।

त्यस्तै, लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सीमित स्रोत र जनशक्ति अभावका बीच पनि अस्पतालले देउखुरीका तीन पालिकासहित चारै पालिकामा स्वास्थ्य सेवा विस्तार गरिरहेको बताइन् । उनले अस्पतालको संरचना र स्रोत व्यवस्थापनमा सुधार आवश्यक रहेको धारणा राखिन् ।

निक सायमन इन्स्टिच्युटका निर्देशक डा. कासिम साहले लमही अस्पतालको सेवा प्रवाह अन्य अस्पतालहरूभन्दा सन्तोषजनक रहेको बताए । उनका अनुसार, “नगरस्तरीय अस्पतालले यति स्तरको सेवा उपलब्ध गराउनु सामान्य कुरा होइन । लमही अस्पतालले आकस्मिक शल्यक्रिया सहज रूपमा सञ्चालन गरिरहेको छ, यो निकै सकारात्मक पक्ष हो ।” डा. साहले लमही अस्पतालले आगामी दिनमा अझ स्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

कार्यक्रममा लमही नगरपालिका-४ का वडा अध्यक्ष सुवाष न्यौपाने, अस्पताल विकास समितिका सदस्य अजय न्यौपाने, अस्पतालका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । अस्पतालका निमित्त प्रमुख हरि खनालले अस्पतालको न्युनतम सेवा मापदण्ड कार्यान्वयनको प्रगति र उपलब्धिबारे जानकारी दिएका थिए । लमही अस्पतालका वरिष्ठ ल्याब टेक्निसियन अधिकृत शंकर भण्डारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्