दाङ – लमही नगरपालिका-९ अमिलियामा शनिबार श्री स्वास्थ्य कोपिला आमा समूहको प्रथम साधारणसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले आमा समूहलाई ग्रामीण स्तरमा अभिभावकको भूमिका निर्वाह गर्दै समुदायमा स्वास्थ्य सचेतना फैलाउने कार्यमा सक्रिय हुन आग्रह गरिन । उनले महिलाहरूको संगठित प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै आमा समूहले गाउँघरमा स्वास्थ्य, सरसफाइ र सामाजिक उत्तरदायित्वका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन ।
वडा सदस्य अमर वलीले वडाभरिका सबै टोलमा आमा समूह संगठित भएर सक्रिय हुनुपर्ने बताए । उनले भने, “आमाहरू संगठित हुनु भनेको अभिभावकत्व ग्रहण गर्नु हो । समाज र परिवारलाई सच्चा मार्गमा डोर्याउने काम पनि तपाईहरूको जिम्मेवारी हो ।” वलीले आमा समूहमार्फत स्थानीय तहका कार्यक्रमहरू प्रभावकारी बनाउने, बालबालिका र परिवारको कल्याणमा योगदान पुर्याउने र समुदायमा सकारात्मक प्रभाव पार्ने अवसर सिर्जना हुने उल्लेख गरे ।
इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी सहायक निरीक्षक निरत बस्नेतले आमा समूहलाई कानूनी परामर्शको आवश्यकता परे सुरक्षा निकाय सधैं तयार रहेको जानकारी दिँदै “घरेलु हिंसा सहेर नबस्नुस । हिँसामा परेका जोकोही आमाहरूले पनि प्रहरीसँग सम्पर्क गर्न सक्नुहुन्छ,” भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, अमिलिया सामुदायिक वनका अध्यक्ष मन्जित खड्काले आमा समूहलाई सामुदायिक वनसँग जोडेर आर्थिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव दिए । उनले भने, “आमा समूहले वनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरेमा आमाहरूलाई आत्मनिर्भर बनाउन र स्थानीय स्तरमा आर्थिक अवसर सिर्जना गर्न सकिन्छ। यसले सामाजिक र आर्थिक विकासमा सकारात्मक भूमिका खेल्नेछ ।”
स्वास्थ्य आमा समूह अमिलियाकी अध्यक्ष लक्ष्मी शाहको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा कार्यक्रममा स्वागत मन्तव्य गीता चौधरीले र कार्यक्रमको संचालन सन्ध्या वलीले गरेकी थिइन । कार्यक्रममा आमा समूहका सदस्यहरू, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्