लमही नगरपालिकाका विभिन्न वडामा योजनाको स्थलगत अनुगमन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ९ माघ २०८२, बिहीबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न विकास निर्माण योजनाहरूको स्थलगत अनुगमन गरेको छ। नगर प्रमुख जोगराज चौधरीको नेतृत्वमा उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, वडा नं. ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, योजना शाखा प्रमुख सुनिता पोख्रेल, प्राविधिक अधिकृत अमित विक, सुवास कुमाल, रञ्जना पोख्रेल लगायतको टोलीले विभिन्न वडामा सञ्चालित योजनाहरूको अनुगमन गरेको हो ।

अनुगमन टोलीले लमही नगरपालिका वडा नं. ३, ४, ५ र ६ मा सञ्चालनमा रहेका तथा सम्पन्न भएका योजनाहरूको अवलोकन गर्दै कामको गुणस्तर, प्रगति र प्रभावकारिताबारे जानकारी लिएको थियो ।

वडा नं. ३ को बड्का गल्लीमा आर्थिक वर्ष २०८२/८३ को बजेटबाट दुबै तर्फ पक्की नाली निर्माण गरिएको छ । सोही सडकमा चालु आर्थिक वर्षमै कालोपत्रे गरिने वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले जानकारी दिनुभयो । यसले वर्षायाममा हुने आवागमनको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

त्यस्तै वडा नं. ४ को शिव मन्दिर टोलमा बाटो स्तरोन्नति तथा चैलाही क्षेत्रमा नाला निर्माण गरिएको छ, जसले स्थानीयवासीलाई सुरक्षित र सहज आवतजावतमा सहयोग पुर्‍याउनेछ । वडा नं. ५ को सनलाइट चोकको पूर्वतर्फ आरसीसी ढलान गरिएको सडकले बजार क्षेत्रको आवागमन व्यवस्थित बनाएको छ भने वडा नं. ६ मा देउपुर स्कुलदेखि नमकिन फ्याक्ट्रीसम्मको सडक स्तरोन्नति भएसँगै विद्यार्थी, कामदार र सर्वसाधारणलाई आवतजावतमा ठूलो सहजता भएको छ ।

यसका साथै लमही नगरपालिकाले अन्य वडाहरूमा पनि खानेपानी, ढल निकास, सडक स्तरोन्नति, पुल–पुलेसा, सामुदायिक भवन निर्माण, विद्यालयको भौतिक पूर्वाधार सुधार, स्वास्थ्य चौकी सुदृढीकरण, पार्क तथा खुला स्थान विकास जस्ता योजनाहरूलाई निरन्तर अघि बढाइरहेको छ। नगरभित्रका गल्लीमा नाली निर्माण, ग्राभेल बिछ्याउने र कालोपत्रे गर्ने कामले समग्र नगरको स्वरूप परिवर्तन हुँदै गएको देखिन्छ ।

नगर प्रमुख जोगराज चौधरीले अनुगमनका क्रममा विकास योजनाहरू समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकार जनताको घरदैलोमै सेवा र विकास पुर्‍याउन प्रतिबद्ध रहेको बताउँदै, नगरको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

विभिन्न वडामा भइरहेका तीव्र विकास निर्माण कार्यले स्थानीयवासीहरू उत्साहित बनेका छन् । “पहिले हिलो र धुलोले हैरान हुन्थ्यौं, अहिले पक्की सडक र नाली बनेपछि हाम्रो बस्ती नै फेरिएको छ,” स्थानीय बासिन्दा बालकृष्ण चौधरीले खुशी व्यक्त गर्नुभयो ।

लमही नगरपालिकाले आगामी दिनमा पनि पूर्वाधार विकास, सामाजिक सेवा र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै नगरलाई आधुनिक र व्यवस्थित सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्