दाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर – १ का सभापति तथा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार विनय बुढाथोकीले विद्या, बुद्धि र विवेककी देवी सरस्वती माताप्रति श्रद्धा व्यक्त गर्दै उहाँको कृपाले सबैलाई ज्ञान, सद्बुद्धि र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा गढवा गाउँपालिका – ६ स्थित श्री बालकल्याण आधारभूत विद्यालय परिसरमा निर्माण गरिएको सरस्वती मन्दिरको प्रतिष्ठान तथा विशेष कार्यक्रममा सहभागी हुँदै सभापति बुढाथोकीले ज्ञान, शिक्षा र सदाचार नै समाजको समुन्नतिको बलियो आधार भएको उल्लेख गर्नुभयो ।
उहाँले सरस्वती माताको कृपाले विद्यार्थी, शिक्षक तथा सम्पूर्ण नागरिकमा सकारात्मक सोच, अनुशासन र नैतिकताको विकास होस् भन्ने कामना गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “ज्ञान र विवेकले मात्रै सही मार्ग पहिचान गर्न सकिन्छ । सरस्वती माताको आशीर्वादले समाजलाई उज्यालो भविष्यतर्फ डोर्याओस् ।”
सभापति बुढाथोकीले यस पावन अवसरमा सम्पूर्ण समुदायलाई वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना व्यक्त गर्दै शिक्षा, संस्कृति र सदाचारलाई जीवनमा आत्मसात गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्