दाङ – लमही नगरपालिकाले सञ्चालन गरिरहेको ‘नगर निर्माण महाअभियान’ अन्तर्गतको राजस्व संकलन तथा व्यवसाय दर्ता नविकरण शिविरबाट उत्साहजनक प्रगति देखिएको छ । शिविर सञ्चालनको दुई दिनमै १ लाख ६४ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सरसफाइ अभियानबाट सुरु गरेको महाअभियानलाई पछिल्लो चरणमा राजस्व संकलन, व्यवसाय दर्ता तथा नविकरणसँग जोड्दा सेवाग्राहीको उल्लेख्य सहभागिता देखिएको हो । पहिलो दिन ६० हजार ८ सय र दोस्रो दिन १ लाख ३ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
व्यवसायीलाई सहज सेवा
घुम्ती शिविरका कारण नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने झन्झट हटेको व्यवसायीहरूले बताएका छन् । आफ्नै टोल नजिकै दर्ता, नविकरण, कर बुझाउने सुविधा पाएपछि समय, श्रम र खर्च बचत भएको उनीहरूको भनाइ छ । कतिपय व्यवसायीले लामो समयदेखि नविकरण नगरेका कागजातहरू समेत यही शिविरमार्फत नियमित गर्न पाएको बताएका छन् । नगरपालिकाका कर्मचारीहरू नै फिल्डमा पुगेर सेवा दिँदा प्रक्रिया छिटो, पारदर्शी र सहज बनेको व्यवसायीहरूको भनाई छ ।
राजस्व वृद्धि र दायरा विस्तार
महाअभियान अन्तर्गत सञ्चालन गरिएको यो शिविरले करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको नगरपालिकाको भनाइ छ । दर्ता नभएका तथा नविकरण नगरेका व्यवसायहरू प्रणालीमा आउँदा नियमित राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीका अनुसार शिविरले करदाताको संख्या बढाउनुका साथै स्थानीय सरकारप्रतिको विश्वास पनि मजबुत बनाएको छ । दर्ता र नविकरणबाट उठ्ने करले नगरको पूर्वाधार विकास, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा थप लगानी गर्न सहयोग पुग्ने अधिकृत डाँगीले बताउनु भयो ।
फागुन १५ सम्म सञ्चालन
लमही नगरपालिकाले यो घुम्ती शिविर फागुन १५ गतेसम्म सञ्चालन हुने छ । बाँकी वडा तथा क्षेत्रका व्यवसायीहरूलाई समेत समेट्दै अपेक्षितभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको लमही नगरपालिका राजस्व शाखा प्रमुख अम्बिका शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्