लमही नगरपालिकाको पशु उपशाखा कार्यालय संचालनमा, कृषकलाई सेवा सहज हुने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १६ माघ २०८२, बिहीबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिका पशु उपशाखा कार्यालय आजदेखि औपचारिक रूपमा संचालनमा आएको छ । सो कार्यालयको उद्घाटन लमही नगरपालिका प्रमुख जोगराज चौधरीले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पशुपालन क्षेत्र नगरपालिकाको आर्थिक विकासको प्रमुख आधार भएको बताउँदै अब कृषकले आवश्यक सेवा स्थानीय तहमै सहज रूपमा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पशु उपचार, खोप, परामर्श तथा प्राविधिक सहयोगमार्फत कृषकको आयस्तर बढाउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी उपप्रमुख लक्ष्मी योगीले महिलाहरूको सहभागिता बढ्दै गएको पशुपालन व्यवसायलाई थप प्रोत्साहन गर्न नगरपालिका विभिन्न कार्यक्रम ल्याउने जानकारी दिनुभयो । उहाँले कृषकको समस्या समाधानमा यो कार्यालय महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय किसानलाई आधुनिक पशुपालन प्रविधि अपनाउन आग्रह गर्दै यसले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लमही नगरपालिकाको पशु उपशाखा कार्यालय सञ्चालनमा आएसँगै पशुपालक किसानलाई सेवा लिन सहज हुने बताउनुभएको छ । उहाँले अब पशु स्वास्थ्य, उपचार, खोप, प्राविधिक परामर्श तथा पशुजन्य उत्पादनको प्रवर्द्धन सम्बन्धी सेवा एकै ठाउँबाट उपलब्ध हुने उल्लेख गर्नुभयो ।

उहाँले लमही नगरपालिकामा कृषिसँगै पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै किसानको आयआर्जन बढाउने लक्ष्यसहित यो कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । पशुपालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन नगरपालिकाले आवश्यक बजेट, जनशक्ति तथा प्रविधिको व्यवस्था गर्दै जाने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । साथै सेवा लिन आउने सबैलाई सहज, पारदर्शी र प्रभावकारी ढंगले सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो ।

वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले लामो समयदेखिको माग पूरा भएको भन्दै अब पशु सम्बन्धी सेवाका लागि टाढा जानु नपर्ने अवस्था आएको बताउनुभयो । उहाँले यस कार्यालयले गाउँस्तरमै सेवा पुर्‍याएर कृषकको समय र खर्च दुवै बचत हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृषक सुरेन्द्र खड्काले पशु उपचार र प्राविधिक सल्लाहका लागि धेरै समस्या भोग्नुपरेको स्मरण गर्दै अब उपशाखा कार्यालय संचालनमा आएपछि पशुपालन पेशा थप व्यवस्थित र व्यावसायिक बन्ने आशा व्यक्त गर्नुभयो ।

नयाँ पशु उपशाखा कार्यालय संचालनमा आएसँगै लमही नगरपालिकाका कृषकलाई पशु स्वास्थ्य, उत्पादन वृद्धि तथा व्यवसायिकरणमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, वडा नम्बर ५ क वडा अध्यक्ष ओम प्रसाद सुवेदी, कार्यपालिका सदस्य तुलसा विक, देवा परियार, सुनिता चौधरी लगायतको उपस्थिति थियो । कार्यक्रमको पशु शाखा प्रमुख शिवराज न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्