दाङ – लमही नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका टोल विकास संस्थाका पदाधिकारीहरू र लमही नगरपालिका बीच टोल विकास संस्थाको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ ।
छलफल कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले टोल विकास संस्था स्थानीय सरकार र नागरिकबीचको सेतुका रूपमा रहेको उल्लेख गर्दै विकास निर्माण, सरसफाइ, सामाजिक सचेतना र सेवा प्रवाहमा टोल विकास संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले टोलस्तरबाट आउने सुझाव र समस्यालाई नगरपालिकाले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
नगर उपप्रमुख लक्ष्मी योगीले टोल विकास संस्थाहरूलाई अझ व्यवस्थित, पारदर्शी र समावेशी बनाउन आवश्यक रहेको बताउँदै महिला, दलित, अपांगता भएका व्यक्ति तथा पिछडिएका वर्गको सहभागिता सुनिश्चित गर्न जोड दिइन्। उनले टोल विकास संस्थाको सक्रियताले नगरको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नु भयो ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले टोल विकास संस्थालाई कानुनी दायरा भित्र राख्दै कार्यसम्पादनलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक सहजीकरण, अभिमुखीकरण तथा तालिम प्रदान गर्ने जानकारी दिनु भयो । उहाँले टोल विकास संस्थाले स्थानीय आवश्यकता पहिचान गरी योजना तर्जुमा प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी टोल विकास संस्थाका पदाधिकारीहरूले आफ्नो क्षेत्रमा देखिएका समस्या, सम्भावना र आवश्यकताबारे धारणा राख्दै नगरपालिकासँग सहकार्य गर्दै विकासका काम अघि बढाउन प्रतिबद्धता जनाएका थिए ।
छलफलले टोल विकास संस्था र नगरपालिकाबीचको समन्वयलाई थप मजबुत बनाउने, टोल विकास संस्थालाई अधिकार प्रत्यायोजन गर्ने, आर्थिक रुपमा बलियो गराउन नगरपालिकाले तोकेको कामहरु उदेश्य सहित दुई पक्षिय सम्झौता गरिएको छ । लमही नगरपालिकामा गेहेन्द्र बहादुर डाँगी प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएपछि पछिल्लो समय लमही नगर निर्माण महाअभियानको नाम दिएर टोल विकास संस्थालाई सक्रिय बनाएर सरसफाई अभियानलाई तिब्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्