दलित समुदायको सशक्तीकरण नै प्राथमिकता – उम्मेदवार चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ माघ २०८२, बुधबार
2 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेस दाङ–१ का उम्मेदवार योगेन्द्र चौधरीले नेपाल दलित संघ क्षेत्र नम्बर १ द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै दलित समुदायको हक–अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले दलित समुदाय अझै पनि शिक्षा, रोजगारी, स्वास्थ्य र आवास जस्ता आधारभूत क्षेत्रमा पछाडि परेको उल्लेख गर्दै अब राजनीतिक प्रतिनिधित्वलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले दलित समुदायका युवालाई सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र उद्यमशीलता प्रवर्द्धन गर्ने योजनालाई प्राथमिकतामा राखिने बताउँदै भन्नुभयो, “दलित समुदायलाई केवल मतदाताको रूपमा होइन, विकासको साझेदारका रूपमा अगाडि बढाउनुपर्छ । राज्यका नीति तथा कार्यक्रम दलितमैत्री हुन आवश्यक छ ।”

उम्मेदवार चौधरीले छुवाछुत तथा भेदभाव अन्त्यका लागि कानुन कार्यान्वयन कडाइका साथ हुनुपर्ने र स्थानीय तहदेखि केन्द्रसम्म दलित सहभागिता अनिवार्य गरिनुपर्नेमा जोड दिनुभयो ।

साथै शिक्षा र रोजगारीमा समान पहुँच दिलाउन आफू संसदमा सशक्त आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी, क्षेत्रीय सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधि तारा प्रसाद नेपाली, जिल्ला सदस्य लिलाराम खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल दलित संघका पदाधिकारी तथा दलित समुदायका अगुवाहरूले उम्मेदवार चौधरीसँग आफ्ना गुनासो, समस्या र अपेक्षाहरू राखेका थिए । उनीहरूले दलित बस्तीमा आधारभूत पूर्वाधार, छात्रवृत्ति, स्वास्थ्य सेवा र रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रम नेपाल दलित संघ दाङ -१ का सभापति प्रवल रसाइलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्