दाङ – ज्ञानज्योती अंग्रेजी बोर्डिङ स्कुल गढवाको २४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा नै समाजको समग्र विकासको आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताउनु भयो । उहाँले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक, नैतिक र अनुशासनयुक्त शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले निजी तथा सामुदायिक विद्यालयबीच सहकार्य आवश्यक रहेको बताउँदै अभिभावक, शिक्षक र व्यवस्थापन समितिको संयुक्त प्रयासबाट मात्र शिक्षामा सुधार सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलले शिक्षा क्षेत्रमा निजी विद्यालयहरूले पनि राज्यलाई सहयोग गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो । उहाँले निजी विद्यालयहरूले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो ।
उहाँले अभिभावक, शिक्षक र व्यवस्थापन समितिको सहकार्यबाट मात्र विद्यालयको समग्र विकास सम्भव हुने बताउँदै आगामी दिनमा अझै गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ज्ञानज्योती अंग्रेजी बोर्डिङ स्कुलका कोषाध्यक्ष तथा लेखा समितिका संयोजक ऋषिराम यादवले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक यतिदेवी चौधरी र तिला खनालले गर्नु भएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्