दाङ – लमही नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न उद्योग तथा कलकारखानाहरूको अनुगमन गरेको छ । उद्योग दर्ता, कर तिर्ने अवस्था, मापदण्ड पालना, सरसफाइ तथा श्रम सुरक्षाको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको छ ।
लमही नगरपालिका -२ मा रहेको गणेश ईटा उद्योग, लमही नगरपालिका -३ मा रहेको जैसवाल ईटा उद्योग, लमही नगरपालिका -२ मा रहेको सगरमाथा फिक्स चिम्नी उद्योग लमही नगरपालिका -४ मा रहेको शुक्रेश्वरी एग्रीकेट बालुवा प्रशोधन उद्योग, जय श्रीराम ईटा उद्योग, वडा नम्बर ३ मा रहेको छम्पाली ईटा उद्योग, न्यु स्वर्गद्वारी ईटा उद्योग, प्रभु महाराज चिम्नी इटा उद्योग, हस्त श्री स:मिल, लमही नगरपालिका -९ मा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, लमही नगरपालिका -८ मा रहेको ओम नमो ईटा उद्योग, वडा नम्बर ८ मा रहेको राप्ती ग्यास उद्योग र वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योग प्रालिको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बोल्दै नगर प्रमुख जोगराज चौधरीले उद्योगहरूलाई कानूनी दायराभित्र रही सञ्चालन गर्न आग्रह गर्नुभयो । “उद्योग तथा कलकारखानाहरू नगरको आर्थिक मेरुदण्ड हुन् । नियम पालना गर्दै व्यवसाय सञ्चालन गरेमा नगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ,” उहाँले भन्नुभयो ।
उपप्रमुख लक्ष्मी योगीले उद्योगहरूमा श्रमिक सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “उद्योगमा कार्यरत श्रमिकहरूको सुरक्षा, स्वास्थ्य र उचित व्यवस्थापन सुनिश्चित गर्नुपर्छ,” उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले दर्ता, नवीकरण र करसम्बन्धी प्रक्रिया सरल बनाइएको उल्लेख गर्दै सबै उद्योगलाई नियमित प्रक्रिया पूरा गर्न आग्रह गर्नुभयो ।
वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले उद्योगहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले वातावरणीय मापदण्ड पालना गर्न उद्योगीहरूलाई अनुरोध गर्नुभयो ।
वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले उद्योगहरूको तथ्यांक अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो भने वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले कर तथा राजस्व प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यपालिका सदस्य तुलसा विकले उद्योगी व्यवसायीसँग समन्वय र सहकार्य बढाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । यसैगरी देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलले उद्योगीहरूको समस्या समाधानका लागि नगरपालिका र व्यवसायीबीच नियमित संवाद आवश्यक रहेको बताउनुभयो ।
राजस्व शाखा प्रमुख अम्बिका शर्माले कर दायित्व समयमै पूरा गर्न आग्रह गर्दै राजस्व प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाइने जानकारी दिनुभयो । उक्त अनुगमनमा प्राविधिक अधिकृत सुवाश कुमाल लगायतको सहभागिता रहेको थियो । नगरपालिकाले उद्योगहरूलाई व्यवस्थित, कानुनी र मापदण्डअनुसार सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्