दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फागु पूर्णिमा (होली) पर्वका अवसरमा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नगर प्रमुख चौधरीले शुभकामना सन्देश व्यक्त गर्दै होली पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विविधतामा एकता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै यस्ता सांस्कृतिक पर्वहरूले समाजमा आपसी सम्बन्ध सुदृढ बनाउने बताउनुभयो ।
उहाँले रंगहरूको पर्वका रूपमा मनाइने होलीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको रंग छाओस् भन्ने कामना गर्नुभएको छ । साथै पर्व मनाउँदा सामाजिक सद्भाव कायम राख्दै मर्यादित, सभ्य र सुरक्षित रूपमा उत्सव मनाउन नगरवासीलाई अनुरोध गर्नुभएको छ ।
नगर प्रमुख चौधरीले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता चाडपर्वले समाजलाई एकताबद्ध बनाउने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्