दाङ – “लमही नगर निर्माण, महाअभियान” अन्तर्गत टोल विकास संस्थासँग भएको सम्झौताअनुसार घर बहाल कर संकलन गर्ने अभियान सुरु गरिएको छ । नगरपालिकाले स्थानीयस्तरमै कर संकलनलाई प्रभावकारी बनाउन टोल विकास संस्थासँग सहकार्य गर्दै यो अभियान अघि बढाएको हो ।
अभियानको सुरुवात भने लमही नगरपालिका ५ गोरक्षनगर टोल विकास संस्थाका अध्यक्ष लील बहादुर रोकाले आफ्नै घरको बहाल कर तिरेर उदाहरणीय कार्यको सुरुवात गर्नुभएको छ । उहाँले आफैंले घर भाडामा दिएबापत लाग्ने कर बुझाउँदै अभियानलाई व्यवहारिक रूपमा सुरु गर्नुभएको हो ।
अध्यक्ष रोकाले आफ्नै जिम्मेवारीबाट सुरुवात गर्दै कर तिरेको कार्यलाई स्थानीयले नेतृत्वदायी, प्रेरणादायी तथा प्रशंसनीय कदमका रूपमा लिएका छन् । यसले अन्य घरधनीलाई पनि घर बहाल कर तिर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
लमही नगरपालिकाले टोल विकास संस्थाहरूलाई सक्रिय बनाउँदै घर बहाल कर संकलनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहन स्वरूप पुरस्कार व्यवस्था समेत गरेको छ । नगरपालिकाको निर्णयअनुसार उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई नगद पुरस्कार प्रदान गरिनेछ ।
नगरपालिकाका अनुसार पहिलो हुने टोल संस्थालाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जानकारी दिनु भयो ।
यस अभियानले नगरपालिकाको राजस्व वृद्धि गर्नुका साथै स्थानीयस्तरमा कर तिर्ने संस्कृतिको विकास गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै टोल विकास संस्थाहरूको सक्रियताले नगर विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्