विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन देउखुरीका चार पालिकाले सहकार्य गर्ने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १७ चैत्र २०८२, मंगलवार
2 Min Read
Aa

दाङ – देउखुरी उपत्यकाभित्रका स्थानीय तहहरूबीचको अन्तर समन्वय बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ । राप्ती गाउँपालिका मा सम्पन्न उक्त बैठकमा लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकले देउखुरी क्षेत्रमा सम्भावित प्राकृतिक तथा मानवीय विपद्हरूसँग जुध्न संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेको हो । निर्णयअनुसार विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीहरूको पहिचान गरी सबै स्थानीय तहले समन्वयमा राहत तथा उद्धार सामग्री खरिद गर्नेछन् । साथै उद्धार कार्यमा प्रयोग हुने सामग्रीहरू नजिकका सुरक्षा निकायलाई हस्तान्तरण गरी प्रभावकारी परिचालनको व्यवस्था गरिनेछ ।

यसैगरी विपद्का समयमा सुरक्षित आश्रयका लागि खुला क्षेत्रहरूको पहिचान र संरक्षण गरिनेछ भने सबै स्थानीय तहलाई सहज हुने कम्तीमा दुई स्थानमा संयुक्त प्रयासमा सुरक्षित आश्रयस्थल निर्माण गरिने भएको छ ।

राप्ती नदी तथा राजमार्ग क्षेत्र आसपास हुन सक्ने विपद्हरूसँग सामूहिक रूपमा सामना गर्न पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्ने निर्णय पनि गरिएको छ । साथै विपद्‌को समयमा प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउन आश्रयस्थल, खाद्यान्न, कपडा लगायतका अत्यावश्यक सामग्री व्यवस्थापनका लागि आवश्यक स्रोत र कोषको व्यवस्था प्रत्येक स्थानीय तहले गर्ने सहमति भएको छ ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीका अनुसार विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चारवटै स्थानीय तहबाट चयन गरिएका युवाहरूलाई कम्तीमा सात दिनको अभ्याससहितको तालिम प्रदान गरी स्वयंसेवकका रूपमा तयारी अवस्थामा राखिनेछ । उनीहरूलाई आवश्यक सुरक्षात्मक सामग्रीसमेत उपलब्ध गराइनेछ ।

यसका अतिरिक्त देउखुरी उपत्यकाभित्रका स्थानीय तहबीच समन्वयलाई निरन्तर र व्यवस्थित बनाउन नियमित बैठक सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । बैठकले आगामी एक महिनाभित्र स्थानीय तहहरूको नामको वर्णानुक्रमअनुसार पालैपालो बैठक आयोजना गर्ने व्यवस्था मिलाउने निष्कर्ष निकालेको छ । बैठकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, लमही नगरपालिका कार्यपालिका सदस्य सुनिता चौधरी, लमही नगरपालिका प्रशासन तथा विपद् शाखा प्रमुख गायत्री थापा, लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्