दाङ – लमही नगरपालिका ८ मा प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरूको एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर सुरु भएको छ । लमही नगरपालिकाको आयोजना र केयर सिटी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरको उद्घाटन गर्दै उपप्रमुख लक्ष्मी योगीले विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध भएकाले सबै नगरबासीलाई सहभागी हुन आग्रह गर्नुभयो । उहाँले वडा नं. १ देखि ९ सम्मका स्थानीयलाई सहज पहुँच हुने गरी शिविर आयोजना गरिएको जानकारी दिँदै पाएक पर्ने स्थानबाट सेवा लिन अनुरोध गर्नुभयो ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा. राजन महत, ग्यास्ट्रोलोजिस्ट डा. सुदीप रेग्मी र बालरोग विशेषज्ञ डा. दीपेन्द्र रायसहितको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरिरहेको छ । साथै अस्पतालका प्रबन्ध निर्देशक जनक सिंह र व्यवस्थापक हरि खत्रीको पनि सहभागिता रहेको छ ।
सतबरिया स्वास्थ्य चौकीका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार वडा नं. ५ देखि ९ सम्मका स्थानीयवासीले शिविरबाट सेवा लिन सक्नेछन् ।
शिविरमा पाठेघरको क्यान्सरको स्क्रिनिङ, अल्ट्रासाउन्ड सेवा लगायत विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । कार्यक्रमको व्यवस्थापन लमही नगरपालिका स्वास्थ्य शाखाकी वरिष्ठ नर्सिङ निरीक्षक मिना भुसाल शर्माले गर्नुभएको थियो भने सञ्चालन ठाकुर प्रसाद भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्