‘पौवा स्वाद उत्सव २०८२’ आयोजना हुँदै, नेपाली स्वाद र संस्कृतिको प्रवर्द्धनमा जोड

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २४ चैत्र २०८२, मंगलवार
2 Min Read
Aa

दाङ – नेपाली मौलिक स्वाद, संस्कृति र आतिथ्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित होटल पौवाले ‘पौवा स्वाद उत्सव २०८२’ आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर देशभर सञ्चालनमा रहेका शाखामार्फत विविध कार्यक्रम गर्न लागिएको हो ।

आयोजकका अनुसार चैत २५ गते ‘पौवा दिवस’को रूपमा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यस दिन विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिमार्फत समुदायसँग सहकार्य गरिने होटल पौवा लमही शाखाले जानकारी दिएको छ ।

त्यसैगरी चैत २६, २७ र २८ गते ‘स्वाद उत्सव’ सञ्चालन हुनेछ । उत्सव अवधिभर हरेक दिन दुईवटा विशेष नेपाली परिकार चखाउने व्यवस्था गरिनेछ। कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।

अहिलेसम्म होटल पौवाका देशभर २० वटा शाखा सञ्चालनमा रहेका छन् । साथै सम्मेलनले आगामी १० वर्षका लागि लगानी योजना तयार पार्ने तथा शाखा संख्या १ सय पुर्‍याउने लक्ष्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

यसै अवसरमा नयाँ वर्ष विशेष कार्यक्रमको जानकारीसमेत सार्वजनिक गरिनेछ जसले आगामी दिनका योजनाहरूलाई थप स्पष्ट बनाउने विश्वास गरिएको छ । यस वर्षको मूल नारा “बितायौं बालापन” – अब परिपक्व र सशक्त यात्रातर्फ अघि बढ्ने भन्ने रहेको छ जसले संस्थाको विकास यात्रा र आगामी लक्ष्यलाई प्रतिबिम्बित गरेको छ ।

होटल पौवा परिवारले सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा लगानीकर्तालाई कार्यक्रममा सहभागी भई नेपाली स्वाद, संस्कृति र आतिथ्यको अनुभव लिन आग्रह गरेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्