‘दिल बस्यो’ गीत सार्वजनिक : विदेशमै रहे पनि अमृत विश्वकर्माको संगीतप्रतिको लगाव उस्तै

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३० चैत्र २०८२, सोमबार
2 Min Read
Aa

दाङ – कुनै समयको चर्चित गीत ‘दाई नभन ल’ बाट श्रोता माझ परिचित गायक अमृत विश्वकर्मा को नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक भएको छ । आफ्नै शब्द, संगीत र स्वरमा तयार भएको यस गीतमा चर्चित लोक दोहोरी गायिका देवी घर्ती को सुमधुर साथ रहेको छ ।

पर्वत पोखरा घर भई हाल कोरियामा बस्दै आउनु भएका गायक विश्वकर्माका ‘साथी हुँ म दाई नभन ल, हरे शिव राम, दुई दिने यो चोला, तिमी कति राम्री लगायत २०/२२ वटा सांगीतिक कोशेली स्रोता माझ पुगि सकेका छन ।

शृंगारिक रसमा आधारित ‘दिल बस्यो’ गीतले माया र प्रेमका भावनालाई सरल र मिठासपूर्ण ढंगले प्रस्तुत गरेको छ । “डाडैंमा चिल बस्यो, मायासंग ख्याल ख्यालमै दिल बस्यो” बोलको गीतले छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । गीतको भिडियोमा गायक अमृत विश्वकर्मासँगै जुना विश्वकर्माको दमदार अभिनय देख्न सकिन्छ, जसले कथालाई अझ जीवन्त बनाएको छ ।

यो गीत गायक विश्वकर्माले आफ्नै ‘अमृत अफिसियल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो । सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा एक लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ, जसले यसको लोकप्रियता झल्काउँछ । गीतको एरेन्ज तथा मिक्सिङ एच.वि.एन. किस्मतले गर्नुभएको छ भने कोरियोग्राफी मौसम हिमालीले गर्नु भएको छ ।

लामो समयसम्म नेपाल प्रहरीमा रही देश र जनताको सेवा गरेका गायक विश्वकर्मा हाल रोजगारीका सिलसिलामा कोरियामा हुनुहुन्छ । तथापि भौगोलिक दूरीले उहाँको नेपाली गीत–संगीतप्रतिको माया र समर्पणमा कुनै कमी ल्याउन सकेको छैन । विदेशमै रहेर पनि निरन्तर सिर्जनामा सक्रिय रहनु उहाँको कला यात्राप्रतिको दृढता र प्रतिबद्धताको उदाहरण बनेको छ ।

‘दिल बस्यो’ मार्फत गायक विश्वकर्माले फेरि एकपटक आफ्ना दर्शक तथा श्रोताको मन जित्ने प्रयास गर्नुभएको छ, जुन सफल हुँदै गएको देखिन्छ । यो गीतको भिडियो हेर्नका लागि तल राखिएको लिंक क्लिक गर्नु होला ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्