सशस्त्र प्रहरी बलले मनायो स्थापना दिवस, सिमा बलियो बनाउने संकल्प

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ बैशाख २०८३, मंगलवार
2 Min Read
Aa

दाङ – सशस्त्र प्रहरी बल, नेपाल नं. ४१ रिजर्भ गण, लमही ७ अर्जुनखोलाले १६औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र बहादुर ऐरले सीमा बलियो भए देश बलियो हुने धारणा व्यक्त गर्दै सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा नागरिकसँग प्रत्यक्ष सहकार्य गर्दै सुरक्षा सुदृढीकरण गरिरहेको बताए ।

उनले सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा राजश्व चुहावट नियन्त्रणका क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । सिमावर्ती क्षेत्रका नागरिकसँग सम्बन्ध विस्तार गर्दै सञ्चालन गरिएको अभियानले सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाएको उनको भनाइ थियो ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सुरक्षा निकाय र स्थानीय सरकारबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउँदै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीबाट निरन्तर सहयोग प्राप्त भइरहेको उल्लेख गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले नागरिकसँग साझेदारी गरेर विपद् व्यवस्थापन र सामाजिक उत्तरदायित्वका कार्यक्रम प्रभावकारी बनाउन सकिने धारणा राखे ।

सशस्त्र प्रहरी उपरीक्षक अर्जुन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा विभिन्न प्रतियोगितामा सफल सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४१ रिजर्भ गण २०७७ सालमा स्थापना भई हाल लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाका सीमा इकाईहरूमा जनशक्ति तथा बन्दोबस्ती सहयोग गर्ने उद्देश्यले कार्यरत रहेको छ ।

आवश्यक पर्दा देशभर नै रिजर्भ फोर्सको रूपमा परिचालन हुँदै आएको उक्त गणले सुरक्षा अपरेसन, विपद् व्यवस्थापन तथा दंगा नियन्त्रणलगायत क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्