दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले समुदायको मौलिक पहिचान जोगाइराख्न भाषा, धर्म र संस्कृतिको संरक्षण अपरिहार्य रहेको बताउनु भएको छ । थारु आयोग नेपालद्वारा दाङको भालुवाङमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आधुनिकताको प्रभावसँगै पछिल्लो पुस्तामा आफ्नो मौलिकता हराउँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले भन्नु भयो, “हाम्रो भाषा, धर्म, संस्कार र संस्कृति नै हाम्रो पहिचान हो । यदि हामीले यी कुराहरूलाई संरक्षण गर्न सकेनौं भने हाम्रो अस्तित्व नै संकटमा पर्न सक्छ ।” उहाँले अहिलेको पुस्ताले आफ्नै मौलिक परम्परा र मूल्य–मान्यताबाट टाढिँदै गएको उल्लेख गर्दै यसप्रति सचेत हुन सबैलाई आग्रह गर्नु भयो ।
उहाँले आफ्नो धर्म र भाषा छोड्नु नहुने स्पष्ट पार्दै सबै समुदायले आफ्नो सांस्कृतिक धरोहरको संरक्षणमा एकजुट हुनुपर्नेमा जोड दिनु भयो । “पूर्वजहरूले बचाएर राखेको इतिहास, परम्परा र संस्कृतिलाई जोगाउनु हामी सबैको कर्तव्य हो,” उहाँले भन्नु भयो, “यसका लागि स्थानीय तह, संघसंस्था र समुदाय सबै मिलेर काम गर्न आवश्यक छ ।”
कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले पनि थारु समुदायको मौलिक पहिचान संरक्षणका लागि विशेष पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । उनीहरूले भाषा, संस्कार, कला तथा परम्परागत जीवनशैली जोगाउन शिक्षा र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्