दाङ – लमही नगरपालिकामा ७ दिने विभिन्न सीपमूलक तालिमहरु औपचारिक रुपमा सुरु भएका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालन गरिएको उक्त तालिममा अचार बनाउने, लेडिज चप्पल बनाउने तथा कपाल काट्ने (हेयर कटिङ) सम्बन्धी सीप प्रदान गरिनेछ ।
तालिमको उद्घाटन लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख योगीले यस्ता सीपमूलक तालिमहरु स्थानीय नागरिकको जीवनस्तर उकास्ने प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले रोजगारीका अवसर सीमित भएको वर्तमान अवस्थामा सीप विकास नै आत्मनिर्भर बन्ने प्रमुख आधार भएको उल्लेख गर्नुभयो ।
“हामीले सिकेका सीपलाई व्यवहारमा उतार्न सके मात्र त्यसको वास्तविक उपलब्धि देखिन्छ,” उपप्रमुख योगीले भन्नुभयो, “यस्ता तालिमले ज्ञान मात्र दिने होइन, आफ्नै ठाउँमा बसेर आम्दानी गर्ने अवसर पनि सिर्जना गर्छन् । यसले बेरोजगारी न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ ।”
उहाँले विशेषगरी महिलाहरुको आर्थिक सशक्तीकरणमा यस्ता कार्यक्रमहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै सीप सिकेर स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो । “महिलाहरु आर्थिक रुपमा सक्षम भए परिवार र समाज नै सुदृढ बन्छ,” उहाँले भन्नुभयो, “त्यसैले यस्ता तालिममा सिकेका कुरा व्यवसायिक रुपमा प्रयोग गर्न जरुरी छ ।”
उपप्रमुख योगीले नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमहरुलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै तालिममा सहभागीहरुलाई अनुशासनका साथ सिकाइमा ध्यान दिन र सिकेका सीपलाई दीर्घकालीन रुपमा उपयोग गर्न सुझाव दिनुभयो ।
लमही नगरपालिकाले सञ्चालन गरेको उक्त तालिममा वडा नम्बर ६ का सहभागीहरुको उल्लेखनीय सहभागिता रहेको उद्यम विकास सहजकर्ता रिता पुनले जानकारी दिनु भयो । तालिमले स्थानीय स्तरमै साना तथा घरेलु उद्योग स्थापना गर्न प्रेरणा दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्