लमहीमा अटो तथा ई–रिक्सा व्यवस्थापनमा नयाँ पहल, १५ दिनभित्र सूचीकृत गर्न निर्देशन ( भाडादर )

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १७ बैशाख २०८३, बिहीबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकामा अटो तथा ई–रिक्सा सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित बनाउन सरोकारवालाबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ । लमही नगरपालिका, यातायात व्यवस्था कार्यालय, देउखुरी उद्योग वाणिज्य संघ, ट्राफिक प्रहरी तथा अटो व्यवसायीबीच आज सम्पन्न छलफलले स्थानीय यातायात व्यवस्थापनलाई थप प्रभावकारी र पारदर्शी बनाउने दिशामा ठोस निर्णयहरू गरेको छ ।

छलफलबाट हालसम्म यातायात व्यवस्था कार्यालयबाट दर्ता तथा नविकरण भई लमही नगरपालिका भित्र रुट परमिट प्राप्त गरेका तथा नगरपालिकामा सूचीकृत आधिकारिक प्रा.लि.को सिफारिससहित सञ्चालनमा रहेका अटो तथा ई–रिक्साहरूलाई सूचना जारी भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने निर्णय गरिएको छ । यसले अव्यवस्थित रूपमा सञ्चालन भइरहेका सवारी साधनलाई नियन्त्रण गर्दै सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी अटो तथा ई–रिक्सा सूचीकृत शुल्क ५ सय रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ भने पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउन उपयुक्त स्थानहरूको स्थलगत अवलोकन गरी तोक्ने सहमति भएको छ । भाडा दररेटलाई पनि समयानुकूल र सर्वसाधारणलाई सहज हुने गरी निर्धारण गरिएको छ ।

छलफलमा लमही बसपार्क क्षेत्रमा अटो तथा ई–रिक्सा प्रवेश गर्दा लिइँदै आएको शुल्क अत्यधिक भएको विषयमा पनि गम्भीर छलफल भएको थियो । सो शुल्क तथा शौचालय प्रयोग शुल्कलाई नागरिकमैत्री बनाउने गरी समायोजन गर्न लमही नगर विकास समितिलाई अनुरोध गर्ने निर्णय गरिएको राजस्व परामर्श समितिका संयोजक तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले जानकारी दिनुभयो ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले व्यवस्थित यातायात प्रणालीले शहरको समग्र विकासमा टेवा पुर्‍याउने उल्लेख गर्दै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नगरभित्र सञ्चालन हुने सवारी साधनलाई नियमभित्र राख्दै यात्रुहरूलाई सुरक्षित, सहज र भरपर्दो सेवा उपलब्ध गराउनेतर्फ नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले अटो व्यवसायीसँग भएको छलफल अत्यन्तै सकारात्मक र परिणाममुखी भएको प्रतिक्रिया दिनुभएको छ । उहाँका अनुसार लामो समयदेखि उठ्दै आएको विषयमा यसपटक सार्थक निष्कर्ष निकाल्न सफल भएकोले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ । “लामो छलफलका बाबजुद अन्ततः हामी सहमतिमा पुग्न सफल भएका छौं, यो आफैंमा ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो, “यो विषयमा पहिले धेरैपटक छलफल भए पनि कुनै ठोस निकास निस्किन सकेको थिएन । तर यसपटक सबै पक्ष जिम्मेवार र सकारात्मक ढंगले प्रस्तुत हुँदा सहमतिको टुंगोमा पुग्न सम्भव भयो ।” उहाँले आगामी दिनमा समेत यस्ता सहकार्य र संवादमार्फत नगरभित्रका अन्य समस्याहरूलाई पनि समाधान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त छलफलमा यातायात व्यवस्था कार्यालय पाखापानी देउखुरीका वरिष्ठ अधिकृत भिम प्रसाद पोख्रेल, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रहरी नायव निरीक्षक मधु थापा, देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशबराज पोख्रेल, सुनौलो देउखुरी यातायात प्रालिका नवराज गुरुङ, दाङभ्याली यातायात प्रालिका बलजित दमाई, दाङ अटो यातायात प्रालिका विनोद चौधरी, लमही नगरपालिका राजस्व शाखा प्रमुख अम्बिका शर्माको सहभागिता रहेको थियो ।

छलफलले लमही क्षेत्रमा सञ्चालन हुने अटो रिक्साको नयाँ भाडादर समेत निर्धारण गरेको छ, जसले यात्रु र व्यवसायी दुवैलाई सन्तुलित लाभ पुर्‍याउने विश्वास लिइएको छ ।

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्