रोग किरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ बैशाख २०८३, शनिबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा “रोग किरा नियन्त्रण तथा व्यवस्थापन” सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषकहरूलाई आधुनिक प्रविधिमार्फत बालीमा देखिने विभिन्न रोग तथा किराको पहिचान, नियन्त्रण र व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा लमही नगरपालिकाका विभिन्न वडाबाट ५४ जना किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

तालिम कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मुलुकको अर्थतन्त्रलाई दिगो र सुदृढ बनाउन किसानहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्न किसानलाई आवश्यक सहयोग गर्न स्थानीय सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले किसानले उत्पादन गरेका कृषि उपजको उचित बजारीकरणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिनु भयो ।

उपप्रमुख योगीले किसानहरूले समयमै गुणस्तरीय बिउबिजन र मल नपाउँदा उत्पादनमा असर परेको बताउँदै यस समस्यालाई समाधान गर्न सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको धारणा राख्नु भयो । उहाँले मल तथा बिउ अभावको समस्या राष्ट्रिय स्तरकै चुनौती भएपनि स्थानीय तहले आफ्नो तर्फबाट किसानलाई सहज वातावरण निर्माण गर्न प्रयास गरिरहेको बताउनु भयो ।

“लमही नगरपालिकाले प्रत्येक वर्ष किसानमुखी बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेटलाई अझ प्रभावकारी बनाउँदै वास्तविक किसानसम्म पुग्ने गरी योजनाबद्ध ढंगले कार्यक्रम सञ्चालन गरिरहेका छौं,” उपप्रमुख योगीले भन्नु भयो ।

लमही नगरपालिकाका कृषि विकास शाखा प्रमुख कमलराज विसीले पछिल्लो समय बालीमा विभिन्न प्रकारका रोग तथा किराको प्रकोप बढ्दै गएकाले किसानलाई समयमै सचेत गराउन तालिम सञ्चालन गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार तालिममा रोग तथा किराको पहिचान, जैविक तथा रासायनिक नियन्त्रण विधि, सुरक्षित विषादी प्रयोग, बाली संरक्षणका उपाय तथा उत्पादन वृद्धि गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो ।

तालिमका प्रशिक्षक कृषि ज्ञान केन्द्र दाङका अधिकृत कृष्ण प्रसाद शर्माले किसानलाई मौसम परिवर्तनका कारण कृषि क्षेत्रमा नयाँ–नयाँ समस्या देखिन थालेको भन्दै समयअनुसार खेती प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्ने भएकाले सुरक्षित तथा सन्तुलित प्रयोगमा ध्यान दिन आग्रह गर्नु भयो ।

तालिममा सहभागी किसानहरूले यस्ता कार्यक्रमले खेतीपातीमा देखिने समस्या समाधान गर्न सहयोग पुगेको बताएका छन् । उनीहरूले आगामी दिनमा पनि कृषि सम्बन्धी थप सीपमूलक तथा प्राविधिक तालिम सञ्चालन गर्न नगरपालिकासँग माग गरेका छन् ।

कृषकहरूको क्षमता अभिवृद्धि गर्दै कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित लमही नगरपालिकाले आगामी दिनमा पनि यस्ता किसान लक्षित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्