राजपुरका अग्नि पीडितलाई लमही नगरपालिकाद्वारा राहत सहयोग

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ बैशाख २०८३, शनिबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाले राजपुर गाउँपालिका–७ मा आगलागीबाट प्रभावित भएका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । केही समयअघि राजपुर गाउँपालिका–७ मा भएको आगलागीका कारण दुई घर पूर्ण रूपमा क्षति भएपछि राजपुर गाउँपालिकाले लमही नगरपालिका समक्ष सहयोगको आग्रह गरेको थियो । सोही आग्रहलाई सम्बोधन गर्दै लमही नगरपालिकाको नगर कार्यपालिका बैठकले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै शुक्रबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी र विपद् व्यवस्थापन शाखा प्रमुख ललिता कुमारी कडायतले राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादवलाई राहत सामग्री हस्तान्तरण गर्नु भएको हो । राहत स्वरूप दुई वटा ब्ल्यान्केट, १० बोरा चामल, १० किलो दाल, १० लिटर खाने तेल तथा दुई वटा त्रिपाल प्रदान गरिएको छ ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले विपद् कुनै एक व्यक्ति, समुदाय वा स्थानीय तहको मात्र समस्या नभई सबैको साझा समस्या भएको बताउनु भयो । उहाँले प्राकृतिक तथा मानवीय कारणले हुने विपद्का घटनामा एकअर्कालाई सहयोग गर्नु मानवीय कर्तव्य भएको उल्लेख गर्दै स्थानीय तहहरूबीच सहकार्य र समन्वयको भावना बलियो हुनुपर्ने धारणा राख्नु भयो ।

राहत सामाग्री हस्तान्तरण गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले विपद्मा परेका नागरिकको उद्धार र सहयोग गर्नु राज्यको दायित्व भएको बताउनु भयो । उहाँले विपद्का समयमा सबै पक्ष एकजुट भएर समाधानतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

“समस्या सबैको साझा हो । विपद् कतिबेला कसलाई आइपर्छ भन्ने थाहा हुँदैन । यस्ता कठिन परिस्थितिमा सबै मिलेर पीडितको साथमा उभिनुपर्छ,” उपप्रमुख योगीले भन्नु भयो ।

“विपद् कहिले, कहाँ र कसलाई पर्छ भन्ने निश्चित हुँदैन । आज राजपुरमा परेको समस्या भोलि लमहीमा पनि आउन सक्छ । त्यसैले दुःखको घडीमा सबैले साथ दिनुपर्छ,” नगर उपप्रमुख योगीले भन्नु भयो । उहाँले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन लमही नगरपालिकाले पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिनु भयो ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले विपद् पीडितलाई तत्काल राहत उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताउनु भयो । उहाँले मानवीय संवेदनालाई केन्द्रमा राखेर नगरपालिकाले निर्णय गरेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिइने बताउनु भयो ।

“स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिक संकटमा पर्दा तत्काल साथ दिनु हाम्रो जिम्मेवारी हो,” प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नु भयो ।

यसअघि पनि केही वर्षअघि राजपुर गाउँपालिका–७ को हाटबास क्षेत्रमा आगलागी हुँदा लमही नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । निरन्तर सहयोग गर्दै आएको लमही नगरपालिकाप्रति आभार व्यक्त गर्दै राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादवले धन्यवाद दिनु भयो ।

उहाँले आगलागी पीडित परिवारलाई राहत उपलब्ध गराएर लमही नगरपालिकाले उदाहरणीय कार्य गरेको बताउँदै यस्तो सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिनु भयो ।

स्थानीय तहहरूबीच सहकार्य र मानवीय सहयोगको भावना बलियो बन्दै गएको सन्देश दिने गरी लमही नगरपालिकाले गरेको राहत सहयोगलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्