विपदका बेला सबै एकजुट भएर सामना गरौँ – प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ८ जेष्ठ २०८३, शुक्रबार
5 Min Read
Aa

दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपदका बेला सबै एकजुट भएर जुट्न सबैलाई आग्रह गर्नु भएको छ । लमहीमा नगरपालिका स्तरिय विपद व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो । बैठकमा बोल्दै नगर प्रमुख जोगराज चौधरीले विपद व्यवस्थापनका कामलाई सबै पक्षको साझा जिम्मेवारीका रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले विपद आउनुअघि नै आवश्यक तयारी, जनशक्ति परिचालन र राहत सामग्रीको व्यवस्थापन स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख चौधरीले स्थानीय तह, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाबीचको सहकार्य बलियो भए मात्र विपदका बेला नागरिकलाई छिटो र प्रभावकारी सेवा दिन सकिने उल्लेख गर्नुभयो ।

बैठकमा विपदका बेला प्रभावित नागरिकलाई राहत व्यवस्थापन तथा वितरण कसरी प्रभावकारी बनाउने, खरिद गरिएका सामाग्रीलाई विपद स्थलमा कसरी उपयोग गर्ने, निर्णय कार्यान्वयनको अवस्था कसरी मजबुत बनाउने तथा स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय कसरी प्रभावकारी गर्ने भन्ने विषयमा गहन छलफल गरिएको हो ।

त्यसैगरी उपप्रमुख लक्ष्मी योगीले विपदको समयमा प्रभावित परिवारसम्म राहत सामग्री निष्पक्ष र व्यवस्थित ढंगले पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले विपद पूर्वतयारीका कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रुपमा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ गण हेक्वा लमहीका डिएसपी इश्वरीदत्त भट्टले विपदको समयमा सुरक्षा निकाय सधैँ तयारी अवस्थामा रहेको बताउँदै उद्धार, राहत तथा खोज कार्यमा समन्वयात्मक भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले विपदका बेला सूचना आदानप्रदान छिटो र विश्वसनीय हुनुपर्ने धारणा राख्नुभयो ।

लमही नगरपालिका -१ का वडा अध्यक्ष दामोदर पौडेलले वडा तहमा विपद पूर्वतयारीलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । स्थानीय समुदायलाई सचेतना तथा तालिमसँग जोड्न सके क्षति न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

त्यस्तै लमही नगरपालिका -३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले विपद व्यवस्थापनका निर्णय व्यवहारिक र कार्यान्वयनमुखी हुनुपर्ने बताउनुभयो । स्थानीय तहमा आवश्यक स्रोतसाधनको उपलब्धता र पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव थियो ।

लमही नगरपालिका-५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले विपदका बेला जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीबीच एकीकृत ढंगले काम गर्नुपर्ने बताउनुभयो । उहाँले राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक दलका प्रतिनिधिहरूले पनि विपद व्यवस्थापनलाई साझा दायित्वका रुपमा लिएर सबै पक्ष एकजुट हुनुपर्ने बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी लमहीका सभापति शिवलाल भण्डारीले विपदका बेला नागरिकलाई तत्काल राहत उपलब्ध गराउन पूर्वतयारी प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका लमही नगर इन्चार्ज रतन कुमार केसीले विपद व्यवस्थापनका निर्णय कार्यान्वयनमा सबै निकाय जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो भने राष्ट्रिय जनमोर्चा लमहीका अध्यक्ष वासुदेव भट्टराईले स्थानीय स्तरमै विपद प्रतिकार्य क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले विपदका बेला सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले विपदको सूचना व्यवस्थापन र उद्धार कार्यलाई छिटो बनाउन समुदायको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीका सभापति थानेश्वर गैरेले मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विपद प्रभावितलाई राहत तथा सहयोग उपलब्ध गराउन सबै निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

लमही नगरपालिकामा लामो समय विपद शाखाको जिम्मेवारी बहन गर्नु भएकी हाल जिन्सी शाखा प्रमुख गायत्री थापाले नगरपालिकामा विपद पूर्व तयारीमा पालिकाको अवस्थाका बारेमा जानकारी दिनु भएको थियो । उहाँले नगरपालिकाले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि आवश्यक तयारी, राहत सामग्री व्यवस्थापन, विभिन्न निकायसँगको समन्वय तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले विपदका बेला तत्काल उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन आवश्यक संरचना र संयन्त्रलाई सक्रिय राखिएको जानकारी दिनुभयो । साथै स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस तथा सरोकारवाला संस्थाबीच समन्वयात्मक ढंगले काम भइरहेको उल्लेख गर्दै आगामी दिनमा समुदायस्तरमा पूर्वतयारीका कार्यक्रमलाई अझ सशक्त बनाइने बताउनुभयो ।

आत्मनिर्भर सेवा केन्द्र ( सिएसआरसी नेपाल ) का निलम त्रिपाठीले समुदायमा विपद सम्बन्धी सचेतना र पूर्वतयारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख ललिता कुमारी कडायतले विषय प्रवेश गराउनुभएको थियो भने प्रिया स्मृती गजमेरले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

No description available.

 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्