दाङ – आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
गणतन्त्र दिवसका अवसरमा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले सम्पूर्ण लमही नगरबासीमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले गणतन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्रले नागरिक अधिकार, समावेशिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले गणतन्त्र दिवसले सबै नेपालीबीच आपसी सद्भाव, एकता र विकासप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै समृद्ध लमही निर्माणमा सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।
वि.सं. २०६५ साल जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्