गर्मीयाम बढेसँगै लमही अस्पतालमा बिरामीको चाप बढ्दै

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ जेष्ठ २०८३, सोमबार
2 Min Read
Aa

दाङ – गर्मीयामको प्रभाव बढेसँगै लमही अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । अस्पताल प्रशासनका अनुसार आज जेष्ठ २५ गतेका दिन मात्र अस्पतालको ओपिडी सेवामार्फत ७६ जना तथा आकस्मिक सेवामार्फत ६ जना गरी ८२ जनाले स्वास्थ्य सेवा लिएका छन ।

लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीप चौधरीका अनुसार गर्मी बढेसँगै ज्वरो, झाडापखाला, रुघाखोकी लगायतका स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ । उनले मौसम परिवर्तन र अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन ।

डा. चौधरीले नगरस्तरीय अस्पताल भए पनि लमही अस्पतालले लमही नगरपालिकाका नागरिकलाई मात्र नभई देउखुरी क्षेत्रका चारवटै स्थानीय तहका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । आसपासका जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेको उनको भनाइ छ ।

“अस्पतालमा दैनिक रूपमा बिरामीको चाप बढिरहेको छ । सीमित जनशक्ति, स्रोतसाधन र भौतिक पूर्वाधारका बावजुद पनि गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रयास गरिरहेका छौं,” डा. चौधरीले भने । उनले अस्पतालमा उपलब्ध सेवा र सुविधालाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन तथा जनशक्ति व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औंल्याए।

लमही अस्पतालले ओपिडी, आकस्मिक सेवा, प्रयोगशाला, एक्स रे, प्रसूति सेवा लगायतका आधारभूत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । अस्पताल प्रशासनका अनुसार पछिल्लो समय स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढ्दै जाँदा सेवा लिन आउनेको संख्या पनि क्रमशः बढ्दै गएको छ ।

गर्मीको मौसममा स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले पर्याप्त मात्रामा स्वच्छ पानी पिउन, बासी तथा अस्वस्थकर खाना सेवन नगर्न र आवश्यक सावधानी अपनाउन अस्पतालले सर्वसाधारणलाई अनुरोध गरेको छ । साथै स्वास्थ्यमा कुनै समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन पनि आग्रह गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्