सामुदायिकमा आधारित बायोचार उद्यम विकासका लागि क्षमता अभिवृद्धि तालिम लमहीमा सुरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २९ जेष्ठ २०८३, शुक्रबार
5 Min Read
Aa

दाङ – लमही नगरपालिका तथा राप्ती गाउँपालिकाको समन्वय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ( युएनडिपी ) को सहयोग तथा नेपाल बायो साइन्स रिसर्च ल्यावोरेटरी प्रा.लि. काठमाडौंको आयोजनामा सामुदायिकमा आधारित बायोचार उद्यमका लागि व्यवसाय योजना विकास तथा सञ्चालन सहयोग सम्बन्धी दुई दिने क्षमता विकास तालिम आजदेखि लमहीमा सुरु भएको छ ।

भोलिसम्म सञ्चालन हुने उक्त तालिममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, कृषि तथा वन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि, कृषक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ । तालिमले स्थानीय स्तरमा उपलब्ध वनजन्य तथा कृषि अवशेषहरूको सदुपयोग गर्दै वातावरणमैत्री बायोचार उत्पादन, यसको व्यवसायिक विकास तथा जैविक कृषि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख चौधरीले पछिल्लो समय रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले कृषि उत्पादन प्रणालीमा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै वातावरण संरक्षण र दिगो कृषि विकासका लागि जैविक प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताउनुभयो ।

उहाँले बायोचार प्रविधि माटोको गुणस्तर सुधार, उत्पादन वृद्धि तथा कार्बन उत्सर्जन न्यूनीकरणका लागि प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभयो । “हामीले कृषि उत्पादन मात्र बढाउने होइन, उत्पादन प्रणालीलाई दिगो र वातावरणमैत्री पनि बनाउनुपर्छ । बायोचारले माटोको उर्वराशक्ति कायम राख्न र किसानको उत्पादन लागत घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ,” नगर प्रमुख चौधरीले भन्नुभयो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले कृषिमा बढ्दो रासायनिक निर्भरता घटाउन स्थानीय सरकारहरू गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले स्वस्थ माटो र स्वस्थ उत्पादनका लागि जैविक कृषि अभियानलाई गाउँघरको तहसम्म पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै बायोचार उद्यमले रोजगारी सिर्जना र आयआर्जनका नयाँ अवसरहरू समेत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामुदायिक वनको संरक्षणसँगै वनजन्य स्रोतहरूको दिगो उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले बायोचार उत्पादनलाई सामुदायिक वनसँग जोडेर स्थानीय स्तरमा उद्यमशीलता विकास गर्न सकिने उल्लेख गर्दै यसले वन व्यवस्थापन र कृषिलाई एकैसाथ मजबुत बनाउने धारणा राख्नुभयो ।

डिभिजन वन कार्यालय देउखुरीका निमित्त प्रमुख रामध्यान साहले वन क्षेत्रबाट प्राप्त हुने अवशेष सामग्रीलाई व्यवस्थापन गर्ने प्रभावकारी उपायमध्ये बायोचार पनि एक रहेको बताउनुभयो । उहाँले वन संरक्षण, वातावरणीय सन्तुलन र जलवायु परिवर्तन न्यूनीकरणका लागि यस्ता कार्यक्रमहरू निकै उपयोगी हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वन महासंघ दाङ का अध्यक्ष हरि भुसालले सामुदायिक वनहरूले वन संरक्षणसँगै उत्पादनमुखी गतिविधिहरूलाई समेत प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले बायोचार उद्यमले सामुदायिक वन समूहहरूलाई आर्थिक रूपमा सशक्त बनाउनुका साथै स्थानीय समुदायको जीवनस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले वातावरण संरक्षण र दिगो कृषि प्रणालीको विकासका लागि सञ्चार क्षेत्रले समेत जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले जैविक कृषि तथा बायोचारजस्ता नवीन प्रविधिका विषयमा समुदायसम्म सही सूचना पुर्‍याउन सञ्चार माध्यमहरू सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नर्ती समन्वय समितिका अध्यक्ष जोखु चौधरीले रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति वर्षेनी घट्दै गएको भन्दै अब जैविक खेतीतर्फ फर्कनु समयको आवश्यकता भएको बताउनुभयो । उहाँले बायोचारको प्रयोगले माटोको गुणस्तर सुधार गरी कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले पछिल्ला वर्षहरूमा रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगका कारण माटोको जैविक गुणस्तर कमजोर बन्दै गएको, उत्पादन लागत बढ्दै गएको तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको उल्लेख गरे । उनीहरूले दिगो कृषि प्रणाली निर्माण, खाद्य सुरक्षा सुनिश्चितता, वातावरण संरक्षण तथा किसानको आय वृद्धि गर्न जैविक मल र बायोचारको प्रयोगलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।

तालिमका क्रममा सहभागीहरूलाई बायोचार उत्पादन प्रविधि, यसको व्यवसायिक सम्भावना, बजार व्यवस्थापन, व्यवसाय योजना निर्माण, सञ्चालन रणनीति तथा सामुदायिक स्तरमा उद्यम विकासका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रबन्धक डा. पूजा मानन्धर लामाको अध्यक्षता तथा जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमको सञ्चालन पत्रकार दुखहरण यादवले गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमले सामुदायिक वन तथा स्थानीय तहहरूलाई बायोचारमा आधारित उद्यम विकासतर्फ उन्मुख गराउँदै वातावरण संरक्षण, दिगो कृषि र स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्