दाङ – गएको बैशाख महिनादेखि यता हिमाली जिल्ला मुस्ताङ र मुक्तिनाथ दर्शन गर्न दैनिक १० हजार भारतीय पर्यटक भित्रिने गरेका छन् ।
मुस्ताङ भ्रमण र मुक्तिनाथ दर्शन गर्ने विदेशी पर्यटकहरुमा ९४ प्रतिशत भारतीय पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको इलाका संरक्षण कार्यालय, जोमसोमले जानकारी दिएको छ । कार्यालयका अनुसार जनवरीदेखि मे महिनासम्म कुल १ लाख ४२ हजार ७३९ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गर्दा भारतीय पर्यटक १ लाख २९ हजार ३४१ रहेका छन् ।
अन्य मुलुकका १३ हजार ३९८ पर्यटक मुस्ताङ पुगेका छन्। गत मे महिनामा मात्रै ६५ हजार ९९४ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्, जसमध्ये ६१ हजार ७९८ जना भारतीय पर्यटक र ४ हजार १९६ जना अन्य देशका रहेका छन । एक्याप कार्यालय प्रमुख गुप्ताका अनुसार सन् २०२६ को पहिलो पाँच महिनामा मुस्ताङ आउने विदेशी पर्यटकमध्ये ९१ प्रतिशत भारतीय पर्यटक र ९ प्रतिशत अन्य मुलुकका रहेका छन्।
सार्क राष्ट्रबाट आएका पर्यटकमध्ये करिब सबैजसो भारतीय नागरिक रहेको एक्यापले जनाएको छ । मे महिनामा मात्रै मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकमध्ये ९४ प्रतिशत भारतीय र ६ प्रतिशत अन्य देशका रहेका थिए । गर्मी बिदाको अवसरमा नेपाल आएका भारतीय पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुग्ने गरेको प्रमुख गुप्ताले बताए ।
भारतीय पर्यटन गतिविधि बढेसँगै मुस्ताङका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यहरूमा चहलपहल बढेको छ। यतिबेला मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा यतिबेला नेपाली र भारतीय पर्यटकको उल्लेखनीय भिड देखिएको छ । विशेषगरी भारतमा गर्मी बढेसँगै मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) ईलाका संरक्षण कार्यालय जोमसोमका कार्यालयका अनुसार हाल दैनिक सरदर १० हजार भारतीय पर्यटक मुस्ताङ भित्रिने गरेका छन ।
भारतीय पर्यटकको बढ्दो आगमनले मुक्तिनाथ क्षेत्रको पर्यटन गतिविधिमा थप चहलपहल ल्याएको छ । पर्यटकको संख्या बढेसँगै होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसाय पनि चलायमान बनेका छन । स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको आगमनले मुस्ताङको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्