दलित महिलाको सामाजिक सशक्तीकरणका लागि क्षमता विकास तालिम अपरिहार्य – वडा अध्यक्ष चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ८ असार २०८३, सोमबार
4 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले दलित महिलाहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सामाजिक सशक्तीकरणका लागि क्षमता विकास तालिम अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ । दलित महिला संघका लागि वडा नम्बर ६ को आयोजनामा सम्पन्न एक दिने उद्घोषण कला तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाहरूलाई सक्षम, आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा स्थापित गर्न सीपमूलक तथा क्षमता विकासका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष चौधरीले नेपाली समाजमा अझै पनि विभिन्न खालका सामाजिक विभेद, असमानता तथा पछौटे सोच विद्यमान रहेको बताउँदै ती चुनौतीहरूको सामना गर्न महिलाहरू शिक्षित, सचेत, आत्मविश्वासी र नेतृत्वदायी बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले दलित समुदायका महिलाहरूले विगतदेखि नै सामाजिक, आर्थिक र शैक्षिक रूपमा धेरै कठिनाइ तथा विभेदको सामना गर्दै आएको उल्लेख गर्दै अब उनीहरूलाई अवसर, शिक्षा, सीप र नेतृत्व विकासका माध्यमबाट समाजको मूल प्रवाहमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

“उद्घोषण कला केवल मञ्चमा बोल्ने सीप मात्र होइन, यो व्यक्तिको आत्मविश्वास निर्माण गर्ने माध्यम पनि हो । जब कुनै महिला सार्वजनिक कार्यक्रममा निर्भीक भएर बोल्न सक्छिन्, आफ्ना विचारहरू स्पष्ट रूपमा राख्न सक्छिन्, तब उनी समाजको नेतृत्व गर्न पनि सक्षम बन्छिन् । महिलाहरूको क्षमता विकास बिना समतामूलक समाज निर्माण सम्भव छैन,” उहाँले भन्नुभयो ।

उहाँले महिलाहरूलाई सशक्त बनाउन स्थानीय सरकारले निरन्तर रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि महिला तथा दलित समुदाय लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिइने बताउनुभयो । “महिलाहरू सक्षम भए परिवार सक्षम हुन्छ, परिवार सक्षम भए समाज सक्षम हुन्छ र समाज सक्षम भए राष्ट्र नै समृद्ध बन्छ । त्यसैले महिलाको सशक्तीकरण केवल एउटा समुदायको विषय होइन, यो समग्र राष्ट्र निर्माणसँग जोडिएको विषय हो,” उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै वडा सदस्य मन्दरी रसाइलीले स्थानीय तहले महिला तथा दलित समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले महिलाहरूलाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउन सीपमूलक तालिम, आयआर्जनका कार्यक्रम तथा नेतृत्व विकाससँग सम्बन्धित गतिविधिहरूलाई निरन्तरता दिइँदै आएको बताउनुभयो ।

उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन महिलाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान, अनुभव र सीपलाई व्यवहारमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । “तालिम लिएर मात्रै पुग्दैन, सिकेका कुरालाई व्यवहारमा उतार्न सक्नुपर्छ । महिलाहरूले आफ्नो आत्मविश्वास बढाउँदै सामाजिक गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । समाज परिवर्तनको प्रमुख शक्ति महिला नै हुन्,” उहाँले भन्नुभयो ।

वडा सदस्य पार्वती रानाले यस्ता तालिमहरूले महिलाहरूलाई सार्वजनिक कार्यक्रममा आत्मविश्वासका साथ बोल्न, कार्यक्रम सञ्चालन गर्न तथा आफ्ना विचार स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले धेरै महिलाहरूमा क्षमता हुँदाहुँदै पनि आत्मविश्वासको कमीका कारण सार्वजनिक रूपमा आफ्ना धारणा राख्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै यस्ता तालिमले उनीहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

“आजको समय सूचना र सञ्चारको समय हो । आफ्नो कुरा प्रभावकारी ढंगले राख्न सक्ने व्यक्ति जहाँ पनि सफल हुन सक्छ । त्यसैले महिलाहरूलाई बोल्ने कला, प्रस्तुतीकरण क्षमता र नेतृत्व विकासका अवसर प्रदान गर्न यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिनुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी दलित महिलाहरूले पनि तालिमबाट आफूहरूको बोल्ने कला, प्रस्तुतीकरण क्षमता तथा नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । सहभागीहरूले सार्वजनिक रूपमा बोल्न सक्ने आत्मविश्वास बढेको, कार्यक्रम सञ्चालन सम्बन्धी नयाँ ज्ञान प्राप्त भएको तथा सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन प्रेरणा मिलेको बताएका थिए ।

एक दिने उद्घोषण कला तालिममा उद्घोषण कला, कार्यक्रम सञ्चालनका विधि, सार्वजनिक बोलाइका सीप, मञ्च व्यवस्थापन तथा प्रभावकारी प्रस्तुतीकरण सम्बन्धी विषयमा पत्रकार दुख हरण यादवले प्रशिक्षण दिनुभएको थियो । तालिमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गर्नुभएको थियो ।

कार्यक्रममा दलित महिला संघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा दलित समुदायका ४५ जना महिलाहरूको सहभागिता रहेको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्