हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गर्दै लमही नगरपालिका

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ असार २०८३, शुक्रबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाले न्यायमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ सबै वडामा वडास्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने अभियान सुरु गरेको छ । अभियानअन्तर्गत शुक्रबार वडा नं. १, २ र ३ मा मेलमिलाप केन्द्र स्थापना गरी आवश्यक फर्निचर तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ । बाँकी वडाहरूमा पनि छिट्टै केन्द्र स्थापना गरिने लमही नगरपालिकाका वरिस्ठ प्रशासकीय अधिकृत महेश थापा ठेडीले जानकारी दिनु भयो ।

मेलमिलाप केन्द्र स्थापनाका क्रममा लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले स्थानीय स्तरमा देखिने सामान्य विवादहरू अदालतसम्म पुग्नुअघि नै आपसी समझदारीबाट समाधान गर्नु नै केन्द्र स्थापनाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सानातिना विवाद अदालतसम्म पुग्दा समय, श्रम र आर्थिक खर्च बढ्ने मात्र होइन, आपसी सम्बन्ध पनि बिग्रने अवस्था आउँछ । मेलमिलाप केन्द्रले संवाद, सहमति र समझदारीमार्फत विवाद समाधान गरी सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

कार्यवाहक नगर प्रमुख योगीले प्रत्येक वडामा सञ्चालन हुने मेलमिलाप केन्द्रले नागरिकलाई आफ्नै समुदायभित्र सहज रूपमा न्याय प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार केन्द्रमार्फत छिमेकीबीचको विवाद, घरायसी सामान्य विवाद, बाटोघाटो, साँध सीमा, पानीको प्रयोग, लेनदेनलगायत स्थानीय तहबाट मिलाउन सकिने प्रकृतिका विवादहरू छिटो, सहज र कम खर्चमा समाधान गर्न सकिनेछ ।

उहाँले नगरपालिकाले न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउन सबै वडामा क्रमशः मेलमिलाप केन्द्र स्थापना गर्ने योजना अघि बढाएको जानकारी दिँदै आगामी दिनमा केन्द्रमा कार्यरत मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि तालिमसमेत सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा लमही नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत महेश थापा ठेडीले मेलमिलाप केन्द्र स्थानीय सरकारको न्याय सम्पादन प्रणालीको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले केन्द्र प्रभावकारी रूपमा सञ्चालन भएमा अदालतसम्म पुग्ने मुद्दाको संख्या घट्नुका साथै नागरिकले छिटो, सरल र सुलभ न्याय प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय तहमा विवाद समाधान हुँदा सरकारी स्रोत साधनको बचत हुने, न्यायिक प्रक्रियामा लाग्ने समय कम हुने तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो । साथै केन्द्र सञ्चालनमा वडाका जनप्रतिनिधि, मेलमिलापकर्ता तथा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा वडा सदस्य एवम न्यायिक समिति सदस्य केशवराज अधिकारीले मेलमिलाप केन्द्र स्थापना भएपछि वडावासीलाई धेरै राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामान्य विवाद समाधानका लागि जिल्ला अदालत वा अन्य निकायसम्म धाउनुपर्ने बाध्यता हट्ने र आफ्नै वडामा सहज रूपमा समस्या समाधान गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार मेलमिलापको संस्कृतिले कानुनी प्रक्रियाभन्दा आपसी सहमति र समझदारीलाई प्राथमिकता दिने भएकाले समाजमा सद्भाव, विश्वास र सहकार्यको वातावरण बलियो बन्नेछ । यसले परिवार, टोल र समुदायबीचको सम्बन्धलाई दीर्घकालीन रूपमा सकारात्मक बनाउने अपेक्षा गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्