वन ऐनका कानूनी जटिलताले स्थानीय विकासमा अवरोध – कार्यबाहक नगर प्रमुख योगी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १४ असार २०८३, आईतवार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले वनसम्बन्धी विद्यमान ऐन तथा कानूनी व्यवस्थाका कारण स्थानीय तहले विकास निर्माणका योजना कार्यान्वयन गर्न कठिनाइ भोग्नु परेको बताउनु भएको छ । वन संरक्षण र विकासबीच सन्तुलन कायम गर्दै स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तथा सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूको संयुक्त सहकार्यमा गढवा गाउँपालिका २ स्थित महदेवा सामुदायिक वन क्षेत्रमा आयोजित वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक नगर प्रमुख योगीले वन संरक्षण सबैको साझा दायित्व भए पनि कानूनी जटिलताका कारण स्थानीय जनताले अपेक्षा गरेका आधारभूत विकासका कामसमेत प्रभावित भइरहेको बताउनुभयो ।

उहाँले स्थानीय तहले सडक, खानेपानी, सिँचाइ, विद्युत विस्तार लगायतका अत्यावश्यक पूर्वाधार निर्माणका योजना अघि बढाउँदा वन ऐनका विभिन्न प्रावधानले अवरोध सिर्जना गर्ने गरेको उल्लेख गर्नुभयो । त्यसका कारण जनप्रतिनिधिहरूले जनतासामु गरेका प्रतिबद्धता समयमै पूरा गर्न कठिन भएको उहाँको भनाइ थियो ।

“वन संरक्षण आवश्यक छ, तर विकास पनि उत्तिकै आवश्यक छ,” उहाँले भन्नुभयो, “स्थानीय तहले जनताको आवश्यकता अनुसार काम गर्न खोज्दा विभिन्न कानूनी प्रक्रिया र स्वीकृतिका कारण योजना लामो समयसम्म रोकिएर बस्ने अवस्था छ । यसतर्फ प्रदेश सरकारले गम्भीर रूपमा ध्यान दिनु आवश्यक छ ।”

कार्यबाहक नगर प्रमुख योगीले खाली तथा उजाड रहेका क्षेत्रमा वृक्षारोपण गर्नु वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा भावी पुस्ताका लागि हरियाली सम्पदा जोगाउने महत्वपूर्ण अभियान भएको उल्लेख गर्नुभयो तर वृक्षारोपण गरेर मात्र दायित्व पूरा नहुने भन्दै रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह, सिँचाइ, घेराबार तथा अनुगमनमा पनि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले वृक्षारोपण अभियानलाई औपचारिकतामा सीमित नराखी दीर्घकालीन संरक्षण योजनासहित अघि बढाउनुपर्नेमा जोड दिँदै वन संरक्षणमा स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय सरकार र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्