गुटभन्दा माथि उठ्दा मात्र कांग्रेस बलियो बन्छ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २१ असार २०८३, आईतवार
3 Min Read
Aa

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको योगदान अतुलनीय छ । प्रजातन्त्र स्थापना, बहुदलीय व्यवस्था पुनःस्थापना तथा संविधान निर्माणसम्मका हरेक महत्वपूर्ण राजनीतिक परिवर्तनमा कांग्रेस अग्रपङ्क्तिमा देखिएको छ । तर पछिल्ला वर्षहरूमा पार्टीभित्र बढ्दै गएको गुटगत राजनीति, व्यक्तिगत स्वार्थ, नेतृत्वबीचको अविश्वास र वैचारिक विचलनका कारण कांग्रेसको संगठनात्मक शक्ति कमजोर बन्दै गएको अनुभूति आम कार्यकर्ता र शुभेच्छुकहरूले गरिरहेका छन् ।

राजनीतिक दल बलियो बन्न चुनाव जित्नु पर्याप्त हुँदैन । दलभित्र वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्षम नेतृत्व, कार्यकर्ताको सम्मान र जनतासँग निरन्तर सम्बन्ध आवश्यक हुन्छ । आज कांग्रेसमा देखिएको मुख्य समस्या गुटगत प्रतिस्पर्धा हो । विचार, नीति र कार्यक्रमको आधारमा स्वस्थ बहस हुनु लोकतन्त्रको सुन्दर पक्ष हो, तर व्यक्ति केन्द्रित गुटबन्दीले पार्टीलाई कमजोर बनाउँछ । यसले सक्षम कार्यकर्तालाई निरुत्साहित गर्छ, योग्य नेतृत्वको विकास रोक्छ र जनतामा पार्टीप्रतिको विश्वास घटाउँछ ।

कांग्रेसलाई पुनः बलियो बनाउन सबैभन्दा पहिले पार्टी संस्थागत रूपमा सञ्चालन हुनुपर्छ । निर्णय विधि र विधानअनुसार हुनुपर्छ । जिम्मेवारी वितरणमा योग्यता, क्षमता र योगदानलाई आधार बनाइनुपर्छ । नेता कार्यकर्ताबीच नियमित संवाद, प्रशिक्षण र आत्मसमालोचनाको संस्कृतिलाई विकास गर्नुपर्छ । गुटभन्दा पार्टी र पार्टीभन्दा राष्ट्र ठूलो हो भन्ने भावना व्यवहारमै स्थापित गर्न आवश्यक छ ।

यस सन्दर्भमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला को विचार र सिद्धान्त झन् सान्दर्भिक देखिन्छ । बीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली कांग्रेसको मूल वैचारिक आधारका रूपमा स्थापित गर्नुभएको थियो । उहाँको समाजवाद राज्य नियन्त्रणको मात्र अवधारणा थिएन, बरु नागरिक स्वतन्त्रता, सामाजिक न्याय, आर्थिक समान अवसर र मानवीय गरिमाको संरक्षणमा आधारित लोकतान्त्रिक समाजवाद थियो । उहाँले राजनीतिक प्रतिस्पर्धासँगै नैतिकता, इमानदारी, सहिष्णुता, जनउत्तरदायित्व र जनसेवालाई राजनीतिका आधारभूत मूल्यका रूपमा व्याख्या गर्नुभएको थियो ।

आजका नेता तथा कार्यकर्ताले बीपीको सिद्धान्तलाई भाषणमा मात्र होइन, व्यवहारमा उतार्न आवश्यक छ । त्यसका लागि प्रत्येक वडा, पालिका, जिल्ला र प्रदेश तहमा नियमित वैचारिक प्रशिक्षण सञ्चालन गरिनुपर्छ । बीपीका पुस्तक, विचार र राजनीतिक दर्शनको अध्ययन अभियान सञ्चालन गर्नुपर्छ । युवालाई नेतृत्व विकास, सार्वजनिक नीति, लोकतान्त्रिक संस्कार र सामाजिक सेवासँग जोड्ने कार्यक्रम ल्याउनुपर्छ । प्रत्येक कार्यकर्ताले समाजसँग प्रत्यक्ष जोडिने अभियान जस्तै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान, सरसफाइ तथा नागरिक सचेतनाका कार्यक्रम मार्फत जनविश्वास आर्जन गर्नुपर्छ ।

त्यसैगरी पार्टीभित्र फरक मत राख्ने संस्कृतिलाई सम्मान गर्ने, तर अन्तिम निर्णय भएपछि सबैले त्यसको इमानदारीपूर्वक कार्यान्वयन गर्ने अभ्यास विकास गर्नुपर्छ । नेतृत्व चयनमा पारदर्शिता, आर्थिक अनुशासन, आन्तरिक लोकतन्त्र र कार्यसम्पादनको मूल्याङ्कनलाई प्रभावकारी बनाउन सके कांग्रेसप्रति जनविश्वास पुनः बढ्न सक्छ ।

राजनीति सत्ता प्राप्त गर्ने माध्यम होइन, जनताको सेवा गर्ने माध्यम हो भन्ने बीपीको मूल सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । यदि कांग्रेसले गुटगत स्वार्थभन्दा माथि उठेर बीपीको लोकतान्त्रिक समाजवाद, नैतिक राजनीति, जनउत्तरदायित्व र संगठनात्मक अनुशासनलाई व्यवहारमा लागू गर्न सक्छ भने पार्टी फेरि जनताको पहिलो रोजाइ बन्न सक्ने आधार बलियो हुनेछ । इतिहासले कांग्रेसलाई ठूलो अवसर दिएको छ अब त्यस अवसरलाई जोगाउने जिम्मेवारी वर्तमान नेतृत्व र सम्पूर्ण कार्यकर्ताकै काँधमा रहेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्