तीज पर्व र छाडा गीतको बढ्दो प्रवृत्ति : मौलिक संस्कृति जोगाउने कि बजारवादको पछि लाग्ने ?

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २७ असार २०८३, शनिबार
5 Min Read
Aa

तीज नेपाली समाजको पहिचान, संस्कृति, परम्परा र नारी भावनासँग गहिरो रूपमा जोडिएको एउटा महत्वपूर्ण पर्व हो । यो पर्व विशेषगरी विवाहित तथा अविवाहित महिलाहरूले आफ्ना दुःख सुख साटासाट गर्ने, माइतीघरमा भेटघाट गर्ने, दर खाने, भगवान शिवको पूजा आराधना गर्ने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने अवसरका रूपमा मनाउँदै आएका छन । नेपाली समाजमा तीज मनोरञ्जनको पर्व मात्र होइन सामाजिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको पर्व पनि हो ।

विगतमा तीजका गीतहरूमा महिलाको जीवन भोगाइ, माइतीको सम्झना, वैदेशिक रोजगारीले सिर्जना गरेको पीडा, घरेलु हिंसा, सामाजिक विभेद, गरिबी, महिला अधिकार, प्रेम, परिवार र समाजका यथार्थ कथाहरू समेटिने गर्थे । यस्ता गीतहरूले समाजलाई मनोरञ्जन मात्र होइन सन्देश पनि दिने गर्थे । गीत सुनेपछि आफ्नै जीवनको कथा जस्तो अनुभूति हुने अवस्था थियो ।

तर पछिल्ला केही वर्षयता तीज गीतको स्वरूप तीव्र रूपमा परिवर्तन हुँदै गएको देखिन्छ । तीज नजिकिएसँगै बजारमा सार्वजनिक हुने धेरै गीतहरूमा मौलिक संस्कृति भन्दा पनि दर्शकको ध्यान तान्ने उद्देश्यले अश्लील, उत्तेजक र छाडा प्रस्तुतिलाई प्राथमिकता दिइएको देखिन्छ । केही गीतमा महिलाको पहिरन, शरीरको अनावश्यक प्रदर्शन, दोहोरो अर्थ लाग्ने शब्द, अपाच्य संवाद तथा सामाजिक मर्यादा विपरीतका दृश्यहरू समावेश गरिएका छन । यस्ता सामग्रीले तीज पर्वको वास्तविक उद्देश्यलाई ओझेलमा पार्दै गएको अनुभूति धेरैले गरेका छन ।

यो समस्या कलाकार वा सर्जक मात्रको होइन । बजारको प्रतिस्पर्धा, सामाजिक सञ्जालको प्रभाव, धेरै ‘भ्युज’, ‘लाइक’ र आम्दानी कमाउने होड पनि यसको प्रमुख कारण हो । डिजिटल प्लेटफर्ममा छोटो समयमै लोकप्रिय बन्ने चाहनाले कतिपय सिर्जनाकर्मीलाई गुणस्तरभन्दा सनसनीपूर्ण सामग्रीतर्फ आकर्षित गरेको देखिन्छ । परिणामस्वरूप, संस्कृतिको संरक्षणभन्दा पनि बजारको माग पूरा गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

यसमा दर्शक र श्रोताको पनि उत्तिकै भूमिका छ । हामीले कुन सामग्री हेर्ने, सुन्ने र लोकप्रिय बनाउने भन्ने निर्णय अन्ततः हामी आफैले गर्ने हो । यदि लाखौं मानिसले अश्लील र उत्तेजक गीतलाई धेरै हेर्ने, सेयर गर्ने र चर्चा गर्ने हो भने त्यस्तै सामग्री अझ धेरै उत्पादन हुनु स्वाभाविक हुन्छ । अर्कोतर्फ, मौलिक, सन्देशमूलक र सांस्कृतिक गीतलाई बेवास्ता गरिने हो भने त्यस्ता सिर्जना क्रमशः हराउँदै जान सक्छन ।

यसको अर्थ आधुनिकता स्वीकार गर्न नहुने भन्ने होइन । समयसँगै संगीतको शैली, प्रस्तुति, प्रविधि र सिर्जनात्मकता परिवर्तन हुनु स्वाभाविक हो । नयाँ पुस्ताको रुचिअनुसार संगीतमा प्रयोग हुनु पनि आवश्यक छ । तर आधुनिकताको नाममा अश्लीलता, सामाजिक मर्यादा विपरीतका शब्द वा दृश्य तथा सांस्कृतिक मूल्यलाई कमजोर बनाउने प्रवृत्तिलाई सिर्जनात्मक स्वतन्त्रताको नाममा उचित ठहराउन सकिँदैन । सिर्जनात्मक स्वतन्त्रतासँग सामाजिक उत्तरदायित्व पनि जोडिएको हुन्छ ।

तीज गीतहरू परिवारका सबै सदस्य बुबा, आमा, दाजुभाइ, दिदीबहिनी, बालबालिका र ज्येष्ठ नागरिकसँगै बसेर हेर्न र सुन्न सकिने खालका हुनु आवश्यक छ । यदि कुनै गीत आफ्नै परिवारसँग बसेर हेर्न असहज लाग्छ भने त्यस्तो सामग्रीले समाजमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक हुन्छ ।

तीज पर्वको अर्को महत्वपूर्ण पक्ष भनेको नारीका भावना अभिव्यक्त गर्ने अवसर हो । आज पनि धेरै महिलाले घरेलु हिंसा, आर्थिक असमानता, वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिनुपरेको पीडा, मानसिक तनाव तथा सामाजिक विभेद भोगिरहेका छन । तीजका गीतहरूले यस्ता विषयलाई सशक्त रूपमा उठाउन सक्छन । महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता, सामाजिक समानता, वातावरण संरक्षण, परिवारमा सम्मान र सकारात्मक परिवर्तनका सन्देश पनि तीज गीतमार्फत प्रभावकारी रूपमा प्रवाह गर्न सकिन्छ ।

यस विषयमा कलाकार, गीतकार, संगीतकार, निर्माता, सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, नियामक निकाय र समाज सबैको साझा जिम्मेवारी छ । कलाकारले लोकप्रियताभन्दा गुणस्तरीय सिर्जनालाई प्राथमिकता दिनुपर्छ । सञ्चारमाध्यमले मौलिक र सन्देशमूलक सिर्जनालाई प्रोत्साहन गर्नुपर्छ । अभिभावकले आफ्ना बालबालिकाले हेर्ने सामग्रीप्रति सचेत हुनुपर्छ । दर्शकले पनि अश्लील सामग्रीलाई नभई संस्कृतिको संरक्षण गर्ने सिर्जनालाई साथ दिनुपर्छ ।

तीज पर्व कुनै छाडा गीतको पर्व होइन भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । यो नेपाली संस्कृति, आस्था, परम्परा, नारी भावना र सामाजिक सद्भावको पर्व हो । यसको मौलिकता जोगाउनु सबै नेपालीको साझा दायित्व हो । बजारको प्रतिस्पर्धाले संस्कृतिको मूल्यलाई विस्थापित गर्न थाल्यो भने भविष्यका पुस्ताले वास्तविक तीज कस्तो थियो भन्ने कुरा इतिहासका पुस्तकमा मात्र पढ्नुपर्ने अवस्था आउन सक्छ ।

त्यसैले आज आवश्यक कुरा कसैप्रति पूर्वाग्रह राख्नु भन्दा स्वस्थ बहस र आत्मसमीक्षा गर्नु राम्रो पक्ष हो । राम्रो सिर्जनाको सम्मान गरौँ, संस्कृतिलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत बनौँ र तीज पर्वलाई यसको मौलिक गरिमा, सभ्यता र सांस्कृतिक पहिचानसहित आगामी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने अभियानमा सबैले आ आफ्नो ठाउँबाट योगदान दिऔँ ।

आउनुहोस्, नेपाली संस्कृति, मौलिक तीज गीत र सभ्य सिर्जनालाई सम्मान गरौँ । तीज पर्वलाई अश्लीलता होइन, संस्कार, संस्कृति, कला र सामाजिक चेतनाको पर्वका रूपमा मनाऔँ । जय गीत जय संगीत ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्