दाङ – डिभिजन वन कार्यालय दाङ (देउखुरी) ले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी प्राथमिकतामाथि वार्षिक समिक्षा गरेको छ ।
समीक्षा कार्यक्रममा सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन, वन डढेलो नियन्त्रण, मुहान संरक्षण तथा सामुदायिक वनको दिगो व्यवस्थापनलाई आगामी कार्यदिशाका रूपमा अघि बढाइने निष्कर्ष निकालिएको छ ।
वार्षिक समिक्षा कार्यक्रममा कार्यालयले आर्थिक वर्षभर सम्बद्र्धन प्रणालीमा आधारित २९ वटा वन कार्ययोजना नवीकरण गरेको, आठ वटा सुधार कटान योजना तयार गरी कार्यान्वयनमा ल्याएको तथा सरकारद्वारा व्यवस्थापित चक्ला वनको एक वटा व्यवस्थापन कार्ययोजना तयार गरेको जानकारी दिएको छ । यसैगरी वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य योजना तथा वृक्षारोपण योजना पनि तयारगरी कार्यान्वयन गरिएको जनाइएको छ ।
डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षता तथा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव भट्टराईले सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन, वन डढेलो नियन्त्रण र मुहान संरक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए ।
समीक्षाका क्रममा आर्थिक वर्ष २०८२/०८३ मा २६ स्थानका ३१८.५ हेक्टर वन क्षेत्रमा डढेलोबाट क्षति पुगेको विवरण प्रस्तुत गरिएको थियो । डढेलो न्यूनीकरणका लागि आठ वटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको, छ वटा वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको, १०.५ किलोमिटर अग्निरेखा मर्मत गरिएको, डढेलो नियन्त्रणसम्बन्धी र्याली, गन्धर्व समुदायमार्फत एक महिनासम्म सांगीतिक सचेतना कार्यक्रम तथा फिल्ड डेमो सञ्चालन गरिएको जानकारी दिइएको थियो। डढेलो नियन्त्रणका लागि पाँच जनाको दस्ता नियुक्त गरी परिचालन गरिएको पनि कार्यालयले जनाएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका जिल्ला अध्यक्ष हरि भुसालले वन, वातावरण तथा जैविक विविधता संरक्षणमा सामुदायिक वनको योगदान अतुलनीय रहेको बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले वन क्षेत्रमा हुने चोरी निकासी र नयाँ अतिक्रमण रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको धारणा राखिन् ।
देउखुरी मा १५१ वटा सामुदायिक वन रहेको र तिनको दिगो व्यवस्थापनका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा स्वेच्छिक अवकाश प्राप्त बरिष्ठ वन अधिकृत कमलप्रसाद पुन र वन कार्य सहायक नरबहादुर थापालाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्