दाङ – परोपकार अमृत नेपालको आयोजनामा ज्येष्ठ नागरिक सहायता परोपकार अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित एकमहिने श्रीशिव महापुराण तथा धार्मिक ज्ञान महायज्ञ आजदेखि लमहीस्थित सार्वजनिक बगैंचामा सुरु भएको छ ।
धार्मिक विधिअनुसार कलश यात्रा, पूजाआजा तथा विशेष उद्घाटन समारोहका बीच सुरु भएको महापुराणमा जनप्रतिनिधि, समाजसेवी, धार्मिक व्यक्तित्व, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले धर्मले समाजलाई नैतिक, अनुशासित र सभ्य बनाउने आधार तयार गर्ने बताउनुभयो । उहाँले आधुनिक जीवनशैलीका कारण मानिसहरू भौतिक सुखसुविधाको खोजीमा व्यस्त बन्दै जाँदा नैतिक मूल्य, संस्कार र मानवीय भावना कमजोर बन्दै गएको उल्लेख गर्दै यस्ता धार्मिक कार्यक्रमले समाजलाई सही मार्गतर्फ डोर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख चौधरीले धर्म भनेको कुनै एक समुदाय वा आस्थाको विषय मात्र नभई मानवतासँग जोडिएको जीवन दर्शन भएको बताउँदै धार्मिक ग्रन्थबाट प्राप्त हुने ज्ञानले व्यक्तिलाई असल नागरिक बन्न प्रेरणा दिने धारणा राख्नुभयो । उहाँले समाजमा बढ्दो हिंसा, विकृति, विसंगति तथा नैतिक पतनलाई नियन्त्रण गर्न धार्मिक चेतना आवश्यक रहेको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृतिको संरक्षणमा सबैको साझा दायित्व रहेको बताउनुभयो ।
उहाँले परोपकार अमृत नेपालले ज्येष्ठ नागरिकहरूको हितका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको महापुराण सामाजिक उत्तरदायित्वसँग जोडिएको उदाहरणीय अभियान भएको भन्दै नगरपालिकाले यस्ता सकारात्मक सामाजिक तथा धार्मिक कार्यलाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजका सक्षम व्यक्तिहरूले पनि सहयोग र दानमार्फत यस्ता अभियानलाई सफल बनाउनुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले धर्मले मानिसलाई असल सोच, असल व्यवहार र सेवा भावको शिक्षा दिने बताउनुभयो । उहाँले धार्मिक कार्यक्रममा सहभागी हुँदा पूजा आराधना मात्र नभई जीवन जिउने सही शैली, नैतिकता, सहिष्णुता र मानव सेवाको भावना पनि सिक्न सकिने उल्लेख गर्नुभयो ।
उपप्रमुख योगीले समाजमा ज्येष्ठ नागरिकहरूको सम्मान र संरक्षण गर्नु हाम्रो संस्कार भएको बताउँदै उनीहरूको अनुभव, ज्ञान र योगदानको कदर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गर्न लागिएको अक्षय कोष अत्यन्तै प्रशंसनीय कार्य भएको बताउँदै यस अभियानमा सबैलाई साथ दिन आग्रह गर्नुभयो ।
उहाँले धार्मिक कार्यक्रमहरूले समाजमा एकता, सद्भाव, सहकार्य र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गर्दै धर्मलाई व्यवहारमा उतार्न सके मात्र समाजमा वास्तविक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो । समाजमा परोपकार सहयोग र मानव सेवाको भावना विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो ।
परोपकार अमृत नेपालका अध्यक्ष अमृतशरण देवाचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष देवाचार्यले ज्येष्ठ नागरिक सहायता परोपकार अक्षय कोष स्थापना गरी आर्थिक रूपमा विपन्न तथा असहाय ज्येष्ठ नागरिकहरूको सहयोगमा कोष परिचालन गर्ने उद्देश्यले एकमहिने श्रीशिव महापुराण आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले धार्मिक कार्यक्रममार्फत संकलन हुने सहयोगलाई सामाजिक सेवासँग जोडेर दीर्घकालीन रूपमा ज्येष्ठ नागरिकको हितमा उपयोग गरिने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला साहले गर्नुभएको थियो । आयोजकका अनुसार एक महिनासम्म सञ्चालन हुने श्रीशिव महापुराणमा दैनिक रूपमा कथा प्रवचन, भजन कीर्तन, धार्मिक अनुष्ठान तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन हुनेछन ।

प्रतिक्रिया दिनुहोस्