राष्ट्रिय सभा सदस्य जंगलीको सदनमा सशक्त आवाज, कोइलाबास भन्सार पूर्ण रुपमा सञ्चालन गरिनु पर्छ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ श्रावण २०८३, मंगलवार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरे जंगलीले दाङस्थित ऐतिहासिक महत्व बोकेको कोइलाबास भन्सारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई आयात निर्यातलाई सहज बनाउन संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद घिमिरेले हाल कोइलाबास भन्सारबाट २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान आयात निर्यात गर्न नपाइने व्यवस्थाका कारण स्थानीय व्यापार, व्यवसाय तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि प्रभावित भएको बताउनुभयो । उहाँले नेपाल सरकारले भारतीय सरकारसँग आवश्यक समन्वय गरी कोइलाबास नाकालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भारतीय नागरिक नेपाल प्रवेश गर्दा भन्सार प्रक्रियामा सहजता हुने भए पनि नेपाली नागरिक भारततर्फ जाँदा विभिन्न झन्झट र समस्या भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै दुवै देशबीचको समन्वयमार्फत त्यस्ता समस्या समाधान गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

सांसद घिमिरेले लुम्बिनी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, विकास र व्यवस्थित व्यवस्थापनमा पनि सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । यसले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।

त्यसैगरी केही दिनअघि दाङको तुलसीपुरस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि भएको खुकुरी प्रहारको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले साउन ११ गते प्रशासनको गोली लागेर कपिलवस्तुको कप्तानगञ्जमा दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको निधन भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो । साथै उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्